काठमाडौं, २४ कार्तिक । अमेरिकी सहयोग सम्झौता एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काको अभिव्यक्ति फरक फरक आउन थालेको छ । प्रधानमन्त्री देउवाले जसरी पनि एमसीसी पारित गर्नुपर्ने भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिँदाखेरि उता परराष्ट्रमन्त्री खड्का भने एमसीसी राष्ट्रिय सहमति गरेरमात्रै अघि बढाउनुपर्ने पक्षमा उभिएका छन् । उनले पछिल्लो समय यस्तैखाले अभिव्यक्ति दिईरहेका छन् ।
पछिल्लो समय सत्तापक्षीय गठबन्धनमा एमसीसीलाई लिएर एकरुपता छैन् । यसअघि सरकार गठन हुनेबित्तिकै सरकार सञ्चालनको लागि तयार पारिएको न्यूनतम साझा कार्यक्रममा समेत एमसीसी राखिएको थिएन । खासमा गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसीसीमा भएका गलत प्रावधान र देशहित विपरितका प्रावधान नसच्याएसम्म पारित गर्न नहुने धारणा राखेकाले पनि गठबन्धनमा एमसीसीलाई लिएर एकरुपता हुन नसकेको हो ।
पछिल्लो समय प्रधानमन्त्री देउवाले बेलायत भ्रमणबाट स्वदेश फर्कने क्रममा एमसीसी पारित गराउने भनेर आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकालाई पत्र लेखिसकेको खुलासा गरेका थिए । तर, प्रचण्डले भने प्रधानमन्त्री देउवाको उक्त अभिव्यक्तिको खण्डन गरिसकेका छन् । उनले एमसीसीमा भएका गलत प्रावधान सच्याएरमात्रै पारित गर्ने कुरा दोहोर्याएका छन् ।
प्रधानमन्त्री देउवाको अभिव्यक्तिलाई नै खण्डित गर्नेगरि परराष्ट्रमन्त्री खड्काले किन एमसीसीबारे राष्ट्रिय सहमति गराएर मात्रै पारित गर्ने कुरा गरेका छन् ? यो विषयमा कांग्रेसकै नेताहरु पनि अनविज्ञ छन् । मन्त्री हुनुभन्दा पहिले खड्काले एमसीसी ढिलो नगरी सदनबाट पारित गर्नुपर्ने धारणा राखेका थिए । उनले सार्वजनिक कार्यक्रममा समेत यस्तै मत सार्वजनकि गरेका थिए । तर, परराष्ट्रमन्त्री भएपछि भने उनले राष्ट्रिय सहमतिको रटान लगाएका छन् ।
मन्त्री भएकै दिन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका खड्काले अमेरिकामा नेपालीहरुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा एमसीसीलाई लिएर दिएको अभिव्यक्तिलाई उनी विवादमा परेका थिए । उनले एमसीसी संशोधनबिना नै पारित गर्नुपर्ने खालको अभिव्यक्ति दिएका थिए । तर, स्वदेश फर्कनेबित्तिकै उनले आफूले नबोलेको विषयमा समाचार बनाईएको भनेर आक्रोश पोखेका थिए । file photo/ReportersNepal