काठमाडौं, २४ कात्तिक । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा नेकपा एमाले पत्तासाफ हुने ठोकुवा गरेका छन् । आज दार्चुला पुगेका नेपालले केपी शर्मा ओली नेतृत्वको पार्टीको भविष्य समाप्तीको दिशातर्फ बढेको बताए ।
‘केपी ओलीको कब्जामा रहेको पार्टीको पत्तासाफ हुन्छ,’ दार्चुला जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै गोकुलेश्वरमा पुगेका नेपालले भने, ‘ओलीको पार्टीको भविष्य छैन ।’
ओलीलाई अहंकारीको संज्ञा दिदै पार्टी विभाजनको अवस्था सृजना गरेको आरोप लगाए । एमालेमा ओलीको आलोचना गर्नेहरु टिक्न नसक्ने ठोकुवा गरे ।
पाँच दलीय गठबन्धन आगामी आम निर्वाचनसम्म रहने नेपालको भनाई थियो । गठबन्धनले ओलीको पार्टीलाई पत्तासाफ गरिछाड्ने बताए ।
अध्यक्ष नेपाल पर्यटनमन्त्री प्रेम आलेसहित सुदूरपश्चिम क्षेत्रमा पुगेका हुन् । उनले नेकपा एस देशभर प्रभावशाली बन्दै गएको बताए ।