काठमाडौं, २५ कार्तिक । बरिष्ठ अधिवक्ता ध्रुव श्रेष्ठले आफू नेपाल बार एशोसिएशनको आन्दोलनमा सहभागी नभएको स्पष्ट पारेका छन् । तर, आफूले बारको आन्दोलनको विरोध नगरेको उनले स्पष्ट पारे ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दैमा सबै समस्याको समाधान नहुने जिकिर गरे ।
उनले बारले न्यायापालिकाको शुद्धिकरणको लागि धेरै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले बारको आन्दोलनले प्रधानन्यायाधीशले राजीनामा दिने वातावरण नबनेको पनि दाबी गरे । उनले आफू प्रधानन्यायाधीश जबराको पक्षमा नउभिएको पनि जिकिर गरे । उनले भने,‘मैले कसैलाई बचाउने पक्षमा कुरा गरेको होईन् ।’