Logo

गृहजिल्ला पुगेर प्रदीप पौडेलले गरे महामन्त्रीमा लड्ने घोषणा, गगन र विश्वप्रकाशसँग भीडन्त पक्का



काठमाडौं, २५ कार्तिक । नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशनमा युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आज (बिहीबार) गृहजिल्ला तनहुँ पुगेर नेता पौडेलले आफूले महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।

पौडेलले यसअघि नै उपयुक्त समयमा आफूले महामन्त्रीमा उम्मेद्धवारी दिने बताएका थिए । अब कांग्रेसको आसन्न महाधिवेशनमा पौडेलको प्रतिष्पर्धा विश्वप्रकाश शर्मा र गगन थापासँग हुने पक्का भएको छ। शर्मा र थापाले यसअघि नै महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरिसकेका छन् ।

नेता पौडेलले आज तनहुँको शुक्लागण्डकी नगरपालिका– ८ मा आयोजित एक कार्यक्रममा महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् । उनले पार्टीमा आफूले पाएका सबैखाले जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको भन्दै अब महामन्त्रीमा उम्मेद्धवारी दिन लागेकोले देशभरिका नेता तथा कार्यकर्ताहरुबाट सहयोगको अपेक्षा गरेको बताए ।

पौडेलले कांग्रेसको भातृ संगठन नेविसंघको नेतृत्वमा रहेर काम गरिसकेका छन् । देशभरिका पार्टीको युवा पँक्तिले पौडेललाई यसपटक महामन्त्रीमा उम्मेद्धवारी दिन दबाब दिएको छ । उनले आफूले पार्टीको संगठन चुस्तदुरुस्त र प्रभावकारी बनाउनका लागि पनि महामन्त्रीमा उम्मेद्धवारी दिन लागेको स्पष्ट पारेका छन् ।

उनले भर्खरै कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको सदस्यमा रहेर महत्पूर्ण काम सम्पन्न गरेका छन् । उनी नेता कृष्ण सिटौलाको निकट मानिन्छन् । सिटौलाले पनि आफूले यसपटकको महाधिवेशनमा समूह नै बनाएर प्रतिष्पर्धा बनाउने बताईसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्