Logo

‘युरोपबाहेक सबैतिर कोरोना संक्रमण घट्दैछ’



एजेन्सी, २६ कात्तिक। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले युरोपबाहेक सबैतिर कोरोना संक्रमण घट्दै गएको जानकारी गराएको छ । डब्लूएचओले बुधबार सार्वजनिक गरेको एक रिपोर्टमा युरोपमा कोरोनाबाट मृत्यु हुने दर १० प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ ।

यसबाहेक अन्य सबै क्षेत्रमा भाइरसको संक्रमण घटिरहेको डब्लूएचओको रिपोर्टमा उल्लेख गरेको छ । महामारी सम्बन्धि साप्ताहिक रिपोर्टमा राष्ट्रसंघको स्वास्थ्य निकायले अघिल्लो हप्ता विश्वव्यापी रुपमा ३१ लाख नयाँ संक्रमित थपिएको उल्लेख गरेको छ जसमा दुई तिहाइ बढी नयाँ संक्रमण युरोपेली क्षेत्रबाट रहेको पाइएको हो ।

साप्ताहिक कोभिड मृत्युदरमा युरोपेली क्षेत्र बाहेक सबै ठाउँमा ४ प्रतिशत गिरावट आएको रिपोर्टमा उल्लेख छ । डब्लूएचओले युरोपेली क्षेत्रमा समावेश गरेका ६१ मुलुकहरु मध्येमा गत हप्ता १० प्रतिशत नयाँ संक्रमित थपिएको छ । त्यस्तै अमेरिकामा पनि नयाँ संक्रमितको दर ५ प्रतिशतले घटेको छ भने मृत्यु दरमा समेत १४ प्रतिशत गिरावट आएको छ ।

मंगलबार फार्मा कम्पनी फाइजरले अमेरिकी खाद्य तथा औषध विभागलाई सबै वयस्कहरुका लागि बुस्टर डोज लगाउने सम्बन्धी स्वीकृति दिन माग गरेको थियो । तर, डब्लूएचओले यो वर्ष अन्त्य नहुन्जेल बुस्टर डोज नलगाउन सुझाव दिँदै आएको छ । तापनि हालसम्म ६० बढी देशहरले बुस्टर डोज लगाउन सुरु गरिसकेका छन् ।

दक्षिणपूर्वी एसिया र अफ्रिकामा पनि कोभिडबाट मृत्यु हुनेको सङ्ख्या एक तिहाइले घटेको बताइएको छ । यस्तोमा डब्लूएचओका युरोपेली निर्देशक डाक्टर हान क्लगले एकपटक फेरि युरोप कोभिड महामारीको एपिसेन्टरमा परिणत भएको बताए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्