काठमाडौं, २६ कार्तिक । सरकारलाई सहयोग पुर्याउने भन्दै पाँच दलले गठन गरेको उच्चस्तरीय राजनीतिक समन्वयका कारण प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र भाँडभैलो भएको छ । हिजो मात्रै सभापति शेरबहादुर देउवाले बोलाएको आफू पक्षधर नेताहरुको भेलामा समिति गठनबारे प्रश्न उठाईएको थियो ।
खासगरी उपसभापति विमलेन्द्र निधिले के उद्देश्यले राजनीतिक समिति गठन गरिएको ? भन्दै प्रधानमन्त्री देउवासमक्ष प्रश्न गरेका थिए । अरु, नेताहरुले पनि समन्वय समिति गठनलाई लिएर आलोचना गरेपछि प्रधानमन्त्री देउवाले भने राष्ट्रियसभा निर्वाचनको लागि तालमेल गर्नुपर्ने भएकोले गठन गरिएको चुनावलगत्तै भंग गरिने वचन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
समन्वय समितिको संयोजकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । महाधिवेशनको मुखमा पौडेललाई फकाउनेगरि संयोजक बनाईएको भन्दै कतिपय प्रभावशाली नेताहरुले सार्वजनिक रुपमै आलोचनासमेत गर्दै आएका छन् ।
१४औं महाधिवेशनमा सभापतिमा उम्मेद्धवारी दिने बताउँदै आएका प्रकाशमान सिंहले पनि राजनीतिक समन्वय समितिको गठनबारे वैद्यताको प्रश्न उठाएका छन् । उनले यसलाई गैरसंवैधानिक कदमको संज्ञा दिएका थिए । गठबन्धनमा आवद्ध पाँच दलबाट २÷२ जना सहभागी छन् । file photo