Logo

प्रधानन्यायाधीश जबरामाथि नेपथ्यबाट क-कस्ले गर्दैछन् प्रहार ?



काठमाडौं, २६ कात्तिक । झट्ट हेर्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि नेपाल बार एशोशिएसन, केही पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरु राजीनामाको दबाब दिइरहेपनि यसका पछाडि धेरै दृश्य अदृश्य घटनाहरु खुल्न थालेका छन् । जबरामाथि ठूलै शक्ति लागेको खुल्न थालेको हो ।

प्रधानन्यायाधीश जबराको थरका कारण पनि राणा परिवारका हुन् । उनको नजिकको सम्बन्ध पूर्व राजपरिवारसँग रहेको विषय पनि उठ्दै आएको थियो । जबरा गणतन्त्रकालका प्रधानन्यायाधीश भएपनि उनी व्यक्तिगत रुपमा अहिलेको शासन प्रणालीप्रति सन्तुष्ट नभएको विषय उठ्ने गरेको थियो ।

जबरा अन्य प्रधानन्यायाधीशहरुभन्दा फरक तरिकाले प्रस्तुत भए । शक्तिको भरपूर अभ्यास गरे । उनले संवैधानिक परिषद्बाट भएका नियुक्तिहरुमा निकटस्थहरुलाई समेत व्यवस्थापन गरे । यतिसम्मकी जबरा चुनावी सरकारको अध्यक्ष बन्ने चर्चा पनि चल्यो ।

देशमा जे जति घटनाहरु विकास भए त्यसका पछाडि अहिलेको राजनीतिक प्रणालीलाई नै सिध्याउने सम्मको भएको विश्लेषणहरु भए । अदालतले त्यसमा सहयोगी भूमिका खेलेको विषय पनि उठे । जबराको भूमिकामाथि प्रश्न उठाइयो ।

अहिले मुख्यगरी गणतन्त्र, संघीयता र धर्मनीरपेक्षताको बचाऊ गर्ने र प्रश्न उठाउनेहरु खुल्न थालेका छन् । राजसंस्थाका पक्षधरहरु सडकमा आउन थालेका छन् । संघीयताको विरोधमा आवाजहरु बढ्न थालेको छ । धर्मनीरपेक्षता हटाउन ठूलै शक्ति लागेको छ । यो घटना विकास भएपछि देशभित्र र बाहिरको शक्ति समेत सतर्क भएको छ ।

देशमा गणतन्त्र, संघीयता र धर्मनीरपेक्षता नै धरापमा परेको अभिव्यक्ति स्वयं माओवादी अध्यक्ष प्रचण्डले दिएका छन् । प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गणतन्त्र विरोधीको आरोप लगाएका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि ओलीलाई परिवर्तन उल्टाउन लागेको आरोप लगाउने गरेका छन् ।

ओलीको कतिपय कदमहरु गणतन्त्र, संघीयता र धर्मनीरपेक्षतालाई खलबलाउने खालको थियो । उनले पशुपतिनाथमा जलहरी चढाउने देखि अयोध्यापुरीमा राम मन्दिर निर्माण गराए । यो आफैमा सन्देश थियो ।

देशभित्र विकास भएका यस्ता घटनाक्रमले गणतन्त्र, धर्मनीरपेक्ष र संघीयताका पक्षधर शक्तिहरुलाई झस्कायो । विशेषगरी धर्मनीरपेक्षताबाट लाभ लिइरहेका बाह्य शक्ति पनि झस्किए । विकसित घटनाक्रममा बाह्य शक्तिहरु पनि फरक तरिकाले प्रस्तुत हुनथाले । जसको असर राजनीतिक दलहरुभित्र र बाहिर समेत पर्न थाल्यो । विस्तारै द्वन्द्व चर्किदै अदालतसम्म पुग्यो । जसमा देशभित्र र बाहिरका शक्तिहरुले पनि नेपथ्यबाट भूमिका खेल्न थालेका छन् । जबरा अदृश्य र दृश्य दुवै शक्तिको प्रहारको केन्द्र बन्दै गएका छन् ।



प्रतिक्रिया दिनुहोस्