Logo

व्यावसायिक उत्पादनमार्फत मात्रै आत्मनिर्भर बन्न सक्छ: मन्त्री बराल



गलकोट, २६ कात्तिक: गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले व्यावसायिक उत्पादनमार्फत मात्रै आत्मनिर्भर बन्न सकिने बताएका छन् ।

बागलुङको ताराखोला गाउँपालिकाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि तीन तहको सरकारले उत्पादनमुखी अर्थतन्त्रको अवधारण ल्याउनुपर्ने बताएका हुन्। मन्त्री बरालले सङ्घीयताको मर्मअनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच अझै पनि सहकार्य, समन्वय र सहअस्तित्व हुन नसक्दा धेरै योजनाहरुमा एकरुपता आउन नसकेको उल्लेख गरे ।

आत्मनिर्भर बन्नका लागि तीन तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्व प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताउँदै उनले उत्पादनलाई विशिष्टीकृत गर्नुपर्नेमा जोड दिए ।

माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्यसमेत रहेका मन्त्री बरालले ताराखोला गाउँपालिका जनयुद्धको जननी भएको बताउँदै आगामी निर्वाचनमा जनताको मन जित्ने गरी योजनाहरु सम्पन्न गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

गाउँपालिकाले निर्माण हुँदै गरेको प्रशासनिक भवन, बहुउद्देश्यीय भवन, सङ्ग्रहालय लगायतका भौतिक संरचना निर्माण सम्पन्न गर्नका लागि आर्थिक अभाव हुन नदिने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्