काठमाडौं, २७ कात्तिक । देशमा अमेरिकी चासो बढ्दै गएको छ । अमेरिकाले उच्च अधिकारीहरु नेपाल भ्रमणमा पठाउन थालेको छ । अमेरिकी राजदूत रेण्डी बेरीले पनि सक्रियता बढाएका छन् ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आउँदो बुधबार नेपाल आउँदैछन् । उनी दक्षिण तथा मध्य एशियाली मामला हेर्ने अमेरिकी उच्च अधिकारी हुन् ।
लू एशियाली मूलका अमेरिकी हुन् । उनले अमेरिकी विदेश मन्त्रालयको कर्मचारीका रुपमा भारत र पाकिस्तानमा समेत काम गरेका थिए । ओबामा राष्ट्रपति हुँदा अल्बानिया र किर्गिजस्तानको राजदूत समेत भएका थिए ।
नेपाल भ्रमणका क्रममा लूले प्रधानमन्त्री शेरबहादुर देउवासहित शिर्ष नेताहरुलाई भेट्ने तय भएको छ ।
यसअघि मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीकी उपप्रमुख फतिमा सुमार दुई महिना अघि नेपाल आएकी थिइन् । उनले एमसीसी पारित गर्नेबारे शिर्ष नेताहरुसँग छलफल गरेकी थिइन् ।
सुमारको भ्रमण भएको दुई महिनापछि उपविदेशमन्त्री लू आउनुलाई अर्थपूर्ण मानिएको छ । उनले पनि एमसीसीबारे शिर्ष नेतृत्वसँग कुराकानी गर्ने बुझिएको छ ।
पछिल्लो समय अमेरिकाले नेपाल मामलामा चासो बढाउँदै लगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग बेलायतमा अनौपचारिक भेट गरेका थिए ।