काठमाडौं, २८ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले आयल निगमसँग सम्झौता गरेको छ । दुई कम्पनीबीच सरल कर्जा प्रवाह र तलबी बचत खाता सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको हो ।
बैंक र निगमबीच तलबी बचत खाता सञ्चालन तथा विना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका नि.कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका छन्।
सम्झौता पश्चात् निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई निगमकोे सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही बैंकले विना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ।
बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ। हाल बैंकको आधार दर ५.४१ प्रतिशत रहेको छ। सम्झौताअनुसार निगमका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ। यस सम्झौतापश्चात् दुवै पक्ष लाभान्वित हुने विश्वास बैंकले गरेको छ ।