काठमाडौं, २९ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले रामचन्द्र पौडेलको कारण फेरि पनि महाधिवेशन भाँडिन सक्ने भन्दै त्यसतर्फ सचेत हुन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
हिजो बसेको केन्द्रीय समितिको बैठकमा आफ्नो भनाई राख्ने क्रममा नेता बस्नेतले वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट सभापतिमा साझा उम्मेद्धवार बन्ने ग्यारेन्टी नभएसम्म पार्टीमा भाँडभैलो गर्नसक्ने खतरा रहेको टिप्पणी गरेका थिए । बस्नेतले महाधिवेशनमा जितेको सभापतिलाई पाँच वर्षसम्म सही ढंगले काम गर्न नदिएको र भाग खोजेको सधैं रडाको मच्चाउने काम वरिष्ठ नेता पौडेलबाट भएको गुनासो पोखेका थिए ।
उनले अहिले पनि १४औं महाधिवेशन समयमै हुन नदिनको लागि पौडेलले भाँडभैलो गर्नसक्ने भन्दै सचेत भएर अघि बढ्न सभापति देउवालाई आग्रह गरे । नेता बस्नेत सुरुदेखि नै पौडेलसँग असन्तुष्ट छन् । उनले सार्वजनिक फोरममा पनि पौडेलको नाम नै लिएर आक्रोश पोख्ने गरेका छन् । file photo