Logo

नवलपरासीमा ७०० बिघा जमिनमा सिँचाइ पुर्याइने



परासी, ३० कात्तिक: सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पु¥याउने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण सुरुआत भएको छ । सिँचाइका लागि आकाशे पानी तथा बोरिङको भर पर्दै आएका उक्त क्षेत्रका कृषक आयोजना निर्माण सुरु भएपछि हर्षित छन् ।

लुम्बिनी प्रदेश सरकारले रु बीस करोड २३ लाख ३७ हजार लागत अनुमान गरी बजेट विनियोजन गरेको उक्त सिँचाइ आयोजनाले सरावल गाउँपालिका–१ र २ का आठ सयभन्दा बढी कृषक प्रत्यक्ष लाभावन्ति हुने अपेक्षा गरिएको छ ।

सरावल–१ मा आयोजनाको शिलान्यास गर्दै प्रदेशसभा सदस्य बैजनाथ चौधरीले यस सिँचाइ आयोजनाबाट कृृषकलाई ठूलो लाभ हुने विश्वास व्यक्त गर्दै कृषि उत्पादन वृद्धि हुने र कृषिको आधुनिकीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

वर्षौंदेखि सिँचाइको समस्या भोग्दै आएका यस क्षेत्रका कृषकको समस्यालाई दृष्टिगत गर्दै नेता चौधरीकै पहलमा यो आयोजना निर्माण हुन लागेको हो ।२०७९ साल चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको यो सिँचाइ आयोजना करिब ६ किलोमिटरको रहने प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ महाशाखाका प्रमुख धु्रवराज पौडेलले जानकारी दिए । आयोजना निर्माण सम्पन्न गर्न तीन खण्डमा विभाजन गरी छुट्टाछुट्टै ठेक्कामार्फत तीनवटा निर्माण कम्पनीलाई जिम्मा दिइएको उनले बताए ।

उनका अनुसार पहिलो खण्ड हिम्डुङ्ग एण्ड थोकर–तिरुपति जेभी सुनवल नवलपरासी, दोस्रो खण्ड बाबुल–नारायण–खेम तारा जेभी बुटवल र तेस्रो खण्ड काष्ठमण्डप कन्स्ट्रक्सन काठमाडौँले निर्माणको जिम्मा पाएको छ । यस आयोजनाबाट बासाबसही, दङ्गिया,मगरमुढाहा, जावा,मनरीसम्मका कृषकले प्रत्यक्ष लाभ लिने दङ्गिया–पेटबन्हिया सिँचाइ जल उपभोक्ता समिति सरावलका अध्यक्ष देवराज चौधरीले जानकारीदिए । “हामीलाई सिँचाइका लागि निकै समस्या थियो, यो तयार भएपछि कृषकले लाभ पाउनेछन्, आय स्तर बढ्नेछ, अन्न उत्पादन बढ्नेछ, यो छिटो बन्नुपर्छ”, उनले भने ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्