काठमाडौं, ३० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनकुटा पुगेर पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापाको खुलेर प्रशंशा गरेका छन् । उनले पिप्लेडाँडामा आयोजित सभामा नेकपा एमाले विभाजन गरेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति आक्रोश पोखे ।
आफ्ना पूर्व सहकर्मीविरुद्ध बोल्दै ओलीले आक्रोश पोखे । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एसका अध्यक्ष माधव नेपालको इमान्दारितामाथि प्रश्न गरे । उनले माधव नेपालभन्दा सुर्यबहादुर थापाका छोरा इमान्दार भएको टिप्पणी गरे । उनले भने, प्रचण्ड र माधव नेपालहरुभन्दा सुर्यबहादुर थापाका छोरा धेरै इमान्दार छन् ।
धनकुटा सुनिलबहादुर थापाको गृहजिल्ला हो । त्यहाँबाट उनी निर्वाचित पनि भइसकेका छन् । सुनिलबहादुर थापाभन्दा अगाडि उनका पिता सुर्यबहादुर थापाले धनकुटाबाट निर्वाचित हुँदै राजनीतिमा हावी भएका थिए । आगामी वर्षभित्र आमनिर्वाचन हुने निश्चितप्रायः भएकाले ओलीले सुनिलबहादुर थापालाई जोडेर प्रचण्ड र माधव नेपालविरुद्ध बोल्नुलाई अर्थपूर्ण मानिएको छ ।
थापा अहिले राप्रपा छाडेर नेपाली काँग्रेसको सहमहामन्त्री बनेका छन् । उनको सक्रियता बढ्दै गएको छ । हालैमात्र थापा भारत भ्रमणमा गएका थिए ।-File Photo