Logo

देउवाकालमा अमेरिकी अधिकारीहरु धमाधम नेपाल भ्रमणमा



काठमाडौं, १ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेपालमा अमेरिकी अधिकारीहरुको धमाधम भ्रमणहरु हुन थालेको छ । देउवा प्रधानमन्त्री भएलगत्तै एमसीसीकी उपप्रमुख फतिमा सुमार नेपाल आएकी थिइन् ।

देउवा यसअघि प्रधानमन्त्री हुँदा नै एमसीसीमा सम्झौता भएको थियो । उनी प्रधानमन्त्री बनेपछि यसलाई पारित गर्ने पहल बढेको छ । तर, दलहरुबीच सहमति बन्न नसक्दा ५० अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सहयोगसम्बन्धी सम्झौता पारित हुन सकेको छैन ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको आजबाट नेपाल भ्रमण हुँदैछ । उनी दक्षिण तथा मध्य एशियाली मामला हेर्ने अमेरिकी उच्च अधिकारी हुन् । लू एशियाली मूलका अमेरिकी हुन् । उनले अमेरिकी विदेश मन्त्रालयको कर्मचारीका रुपमा भारत र पाकिस्तानमा समेत काम गरेका थिए । ओबामा राष्ट्रपति हुँदा अल्बानिया र किर्गिजस्तानको राजदूत समेत भएका थिए ।

लू आएको भोलिपल्ट अर्थात बिहिबार दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केल्ली किडरलिङ पनि आउँदैछिन् । अमेरिकी दूतावासले यसबारे जानकारी दिइसकेको छ । उनले नेपालका उच्च अधिकारी देखि नागरिक समाजका अगुवाहरुलाई भेट्ने तय भएको जनाइएको छ ।

देउवाकालमा अमेरिकी अधिकारीहरुको भ्रमण बढ्नुलाई चासोका साथ हेरिएको छ । यसअघि बेलायत भ्रमणमा उनले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग भेटवार्ता गरेका थिए ।

अमेरिकाले चीनको चासो दक्षिण एशियामा बढेपछि शतर्कता अपनाएको छ । उसले नेपालमा निकै चासो बढाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्