काठमाडौं, २ मंसिर । नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आन्दोलन कुनै पनि हालतमा नछाड्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘जस्तोसुकै परिस्थितिमा पनि जसरी पनि आन्दोलन गछौं । कुनै हालतमा भाग्दैनौ ।’
उनले जबराले भोली ३ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका अन्य कार्यक्रम घोषणा गर्र्ने पनि बताए । न्यायापालिकामा विकृति र विसंगति आउन नदिन कुनै पनि हालतमा आन्दोलन नछाड्ने उनको भनाई थियो । श्रेष्ठले न्यायापालिकाको सुधार गर्न र भ्रष्टाचार रोक्नको लागि आफु र बार लागि परेको जानकारी दिए ।
न्यायापालिकाको इतिहास जोगाउन, भ्रष्टाचार रोक्नको लागि र विचौलियालाई रोक्नको लागि आन्दोलनमा उत्रिएका साथीहरुमाथि आज आक्रमण भएको प्रति आक्रोस व्यक्त गरे । उनले भने, ‘ हामी वकिलहरुले आफ्नो काम छाडेर न्यायालयबाट विचौलियाहरुलाई हटाउन खोजिरहेका छौ ।’ उनले विचौलियालाई जन्माउने काम चोलेन्द्रको नेतृत्वमा भएपछि आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको स्पष्ट पारे ।