Logo

सुजाता कोइरालाले सभापतिमा उम्मेद्धवारी दिने, पहिलो महिला सभापति भएर ईतिहास रच्ने दाबी



काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशनमा नेतृ सुजाता कोइरालाले पनि सभापतिको उम्मेद्धवारी दिने भएकी छिन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले आफूले यही मंसिर ६ गतेपछि पत्रकार सम्मेलन गरेर सभापतिको उम्मेद्धवारी घोषणा गर्ने जानकारी दिईन् ।

उनले भनिन्,‘म सभापतिमा उम्मेद्धवारी दिन्छु, ब्याक हुने कुरै छैन् । शशांक र शेखर जो उठेपनि म ब्याक हुन्नँ, मैले सबै तयारी गरिसकेको छु, अब अघि बढ्छु ।’ उनले देशभरिका नेता/कार्यकर्ताले आफूलाई पार्टीको नेतृत्वमा आउनको लागि दबाब दिएको र कार्यकर्ताहरुको भावनालाई कदर गर्दै सभापतिमा उठ्न लागेको बताईन् । उनले कांग्रेसमा गिरिजाबाबुको लिगेसी आफूले मात्रै बोकेको भन्दै त्यसको लागि पनि आफू नेतृत्वमा आउन चाहेको धारणा राखिन् ।

उनले कांग्रेसजस्तो यति लामो इतिहास बोकेको पार्टीमा अहिलेसम्म महिला सभापति नभएको भन्दै आफूले सभापतिमा विजयी भएर पहिलो महिला सभापतिको इतिहास बनाउने पनि दाबी गरिन् । पछिल्लो समय कोइराला परिवारबाट जो उठेपनि एक जना सहमतिमै उठ्ने चर्चा चलेको थियो ।

तर, शेखर र शशांक दुवैले आ–आफ्नो दाबी प्रस्तुत गरेपछि सुजाता भने सभापतिको रेसबाट अब ब्याक नहट्ने भएकी हुन् । उनले पार्टीमा गुटबन्दी धेरै मौलाएको र नेताहरु कार्यकर्तामुखी नभएको भन्दै आफूले त्यो खाडल चिर्ने पनि दाबी गरेकी छिन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot