Logo

एमसीसी मंसिरभित्र वार कि पार



काठमाडौं, ३ मंसिर । अमेरिकी सहयोगसम्बन्धी एमसीसी मंसिरभित्र वार कि पार हुने भएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले समयसीमा नै तोकेर एमसीसीबारे निर्णय गर्न शिर्ष नेताहरुलाई भनेपछि त्यस्तो अवस्था भएको छ ।

लूले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग महत्वपूर्ण भेटवार्ता गरेका छन् । भेटका क्रममा उनले सिधै एमसीसीबारे के गर्ने ? भनी प्रश्न गरेका थिए ।

त्यसअघि लूले हिजो प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । उनले देउवासँगको भेटमा पनि कहिलेसम्म पारित गर्न सकिन्छ वा सकिदैन ? प्रश्न जवाफ मागेको बुझिएको छ ।

एमसीसी डिसेम्बरको मध्यतिर अर्थात् मंसिरभित्र पारित गर्न समयसीमा पनि दिएको बुझिएको छ । एमसीसी मंसिरभित्र टुंगो नलागे अन्यत्र लाने सम्मको कुरा गरेको बुझिएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी ५० अर्ब नेपाली रुपैयाँ बराबरको विकाससम्बन्धी सहयोग हो । यो सम्झौता देउवा यसअघि प्रधानमन्त्री हुँदा सन् २०१७ मा भएको थियो । सम्झौतामा एमसीसी संसदबाट पारित हुनुपर्ने उल्लेख छ ।

विशेषगरी कम्युनिस्ट पार्टीहरु एमसीसीको विरोधमा छन् । उनीहरु कुनै हालतमा पारित गर्न नदिने या संशोधनसहित पारित गर्ने पक्षमा छन् । यसले एमसीसीको भविष्यमाथि अन्यौल थपिएको छ ।



प्रतिक्रिया दिनुहोस्