Logo

नेपाल परिवार दललाई ऋषि धमलाको शुभकामना : ‘देश र जनताको हितमा काम गर्नुहोस र भ्रष्टाचारमुक्त देश बनाउनुहोस’ (भिडिओसहित)



काठमाडौं, ४ मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले देश र जनताको हित हुनेगरि नीति बनाएर अघि बढ्न नेपाल परिवार दललाई सुझाव दिएका छन् । आजबाट काठमाडौंमा सुुरु भएको नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने क्रममा धमलाले यस्तो बताएका हुन् ।

उनले भने,‘पाटीको नीति कार्यान्वयन गर्न सबैको प्रिय लिडरसिप आवश्यक छ। नेता बन्नु ठूलो कुरा होईन, त्यो नेताले देश र जनतालाई के दियो भन्ने कुरा ठूलो कुरा हो । नेता भनेको त देश र जनताप्रति समर्पित हुनुपर्छ । परिवार र आफन्तको लागि राजनीति गर्नुहुँदैन् । नेता गुटको मात्रै नेता नभएर तीन करोड नेपालीको साझा नेता हुनुपर्छ ।’्

पत्रकार धमलाले कोभिडपछि महाधिवेशन गर्न नेपाल परिवार दल पहिलो दल बनेको भन्दै बधाई दिए । उनले भने,‘महाधिवेशन भनेको पार्टीको लागि उत्सव हो । एकनाथ ढकालजीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु । तपाईँले देश र माटो सुहाउँदो नीति बनाउनुहोस । जनताको मन जित्ने काम गर्नुहोस । मेरो शुभकामना छ ।’

उनले आफूहरुले कुनै पार्टीनिकट भएर पत्रकारिता नगरेको र भविष्यमा पनि नगर्ने विश्वास दिलाए । उनले भने,हाम्रो काम भनेको जनताको सही सूचना सम्प्रेषण गर्नु हो । दलहरुले राम्रो काम गरे हामी प्रचारप्रसार गर्छौं । तर, देश र जनताको अहित हुनेगरि काम गर्नुभयो भने हामी त्यसको विरोध गर्छौं । सधैं खबरदारी गर्छौं । तपाईँहरुले जनताको हितमा काम गर्नुभयो भने त्यसको भने हामी सधै समर्थन गर्छौं ।’

उनले सिमित गुटको नेता कसैको लागि स्विकार्य नहुने धारणा राखे । उनले नेपालको राजनीतिक इतिहासमा नेपाल परिवार दलले ठूलो छलाङ हानेको पनि स्मरण गराए । उनले भने,‘तपाईँहरु छोटो समयमा सरकारमा जानुभयो, एकनाथजी मन्त्री हुनुभयो । अब तीनै तहको निर्वाचनमा राम्रो विचार लिएर जनतामा जानुहोस । पार्टीले जनताको मन जित्न सक्नुपर्छ । मलाई विश्वास छ, परिवार दलले जनताको हितमा काम गर्छ ।’

धमलाले सम्बोधनको अन्त्यतिर देशको महारोग भनेको भ्रष्टाचार, बेथति, अन्याय र अत्याचार भएको भन्दै यसलाई निमिट्यान्न पार्नुपर्नेमा जोड द्यिए । उनले भने,‘यो देशको महारोग भनेको भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचार हो । भ्रष्टाचारमुक्त समाज बनाउनुहोस । मेरो शुभकामना ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot