Logo

चाक्सीबारीमा किन बढ्यो काँग्रेस नेता कार्यकर्ताको दौडधूप



काठमाडौं, ४ मंसिर । जनआन्दोलन २०४६ सालको घोषणा भएको चाक्सीबारी उतिबेला शक्तिको केन्द्र बनेको थियो । जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको निवास चाक्सीबारीमा देशभित्रका मात्र नभई देशबाहिरका नेताहरुको पनि ओहोरदोहोर हुन्थ्यो । तर, जनआन्दोलन सफल भई प्रजातन्त्रको घोषणापछि शक्ति अन्यत्र सर्दै गयो ।

३२ वर्षपछि चाक्सीबारी फेरि शक्तिको केन्द्र बन्दै गएको छ । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा गणेशमान सिंहका छोरा प्रकाशमान सिंहका कारण चाक्सीबारी फेरि चर्चामा पुगेको हो । पूर्वमहामन्त्री सिंह सभापतिका मुख्य दाबेदार देखिदै गएका छन् । उनले पछि नहट्ने अडान लिएका छन् ।

सिंह काँग्रेसभित्र आफ्ना आन्तरिक प्रतिद्वन्द्वीविरुद्ध आक्रामक पनि बनेका छन् । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइरालालाई विशेष तारो बनाएर कडा अभिव्यक्ति दिदै आएका छन् । तर, सिंहलाई फकाउन सबै नेताहरुको प्रयास चलिरहेको छ ।

पौडेलले यसै हप्ता चाक्सीबारी पुगेर सिंहलाई भेटेका छन् । उनले पावर सेयरिङबारे कुराकानी गरे ।

केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि शुक्रबार चाक्सीबारी पुगेर प्रकाशमान सिंहसँग कुराकानी गरे । उनी शक्तिबाँडफाँडको प्रस्तावसहित पुगे । सभापतिमा साथ दिन आग्रह गर्दै प्रकाशमानलाई प्रधानमन्त्रीको प्रस्ताव राखे । तर, उनी पछि हटेनन् । आफू लामो समय पार्टी राजनीतिमा लागेको भन्दै स्वतः सभापतिको दाबेदार रहेको बताए ।

आज महामन्त्री डा. सशांक कोइराला चाक्सीबारी पुगेर सिंहसँग छलफल गरे । दुई नेताबीच एक अर्काविरुद्धको आरोप प्रत्यारोप नगर्ने सहमति बन्यो । जिल्ला अधिवेशनपछि शक्ति हेरेर पावर सेयरिङको सहमति बनेको बुझिएको छ ।

यसरी सिंहले शक्ति वृद्धि गर्दै जाँदा चाक्सीबारे फेरि शक्तिशाली बन्दै गएको छ । नेता कार्यकर्ताको दौडधूप बढेको छ ।



प्रतिक्रिया दिनुहोस्