काठमाडौं, ५ मंसिर । नेकपा एमाले फुट्दा बामेदव गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा जाने चर्चा थियो । उनले त्यही संकेत पनि गरेका थिए । तर, गएनन् ।
गौतम अहिले हराएका जस्तै छन् । तर, चुप बसेका छैनन् । उनी भित्र भित्र कम्युनिस्ट एकता अभियानमा लागेका छन् ।
नेकपा एसमा नलागेका गौतम नेकपा एमालेमा नभएको घोषणा गरेका छन् । तर, एमालेले उनलाई उपाध्यक्षकै रुपमा राखेको छ । १०औं महाधिवेशनपछि भने उनी कुनै पदमा रहने छैनन् ।
गौतम कुनैबेला एमालेका शक्तिशाली नेता थिए । उनले एमाले फुटाएर माले बनाएको इतिहास पनि छ । दुईपटक गृहसहित उपप्रधानमन्त्री बने । हक्की स्वभावका उनी केपी शर्मा ओली र माधवकुमार नेपालसामु भने कमजोर देखिए ।
गौतमको प्रधानमन्त्री बन्ने चाहना अझै पूरा भएको छैन । उनी सरहका नेताहरु केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री बने । तर, गौतम बन्न सकेनन् । उनले प्रयास भने छाडेका छैनन् । गएको आमनिर्वाचनमा जाँदा गौतम प्रधानमन्त्रीका दाबेदार जसरी गएका थिए । तर, चुनाव हारेपछि त्यो सम्भावनाको ढोका बन्द भयो ।
अहिले गौतम रणनीतिक तरिकाले कम्युनिस्ट एकता बनाउने र त्यसको जस लिने गरी बढेका छन् । कम्तिमा नेकपा माओवादी केन्द्र, नेकपा एससहित कम्युनिस्ट घटकहरु एक बनाएर चुनावमा जाने वातावरण तयारीमा लागेका छन् । उनी बलियो गठबन्धन या केही कम्युनिस्ट पार्टीको एकताबाट बनेको शक्तिमा जाने सम्भावना बलियो छ । तर, ओली नेतृत्वको नेकपा एमालेमा फर्कने सम्भावना कम छ ।