काठमाडौं, ५ मंसिर । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा आज (आइतबार) सञ्चालित एकदिने योग शिविरमा सहभागीहरुलाई गुर्जोको चिया सेवा गरेका छन् । राजलवटका अनुसार शिविरमा सहभागी एक हजारभन्दा बढिलाई चिया सेवन गराईएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको उक्त योग शिविरमा मन्त्री प्रेम आलेसहित भारतीय योगगुरु रामदेब, आचार्य बालकृष्ण र गैरआवासीय नेपाल संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतको उपस्थिति थियो।
उक्त कार्यक्रममा सहभागी मन्त्री आलेलाई गुर्जोको सेवन गराईएको थियो । गुर्जो चिया सेवा र सहभागीहरुको यसप्रति अभिरुचि देखेर स्वामी रामदेव र आचार्य बालकृष्ण दुवै जनाले प्रशंसा गरेका थिए ।
योग शिविरपछि बाबा रामदेवलाई संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेमबहादुर आलेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने मन्त्री आलेले रामदेवले मायाको चिनो दिएका थिए।
नेपालीहरूको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा लिइएको मन्त्रालयले जनाएको छ। योगगुरु रामदेवले शनिबार बिहान पनि चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए।
योग शिविर पश्चात् योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ। रामदेव बिहीबार नेपाल आएका हुन् ।