Logo

एमाले महाधिवेशनमा दुई सय ५० बढी चिकित्सक परिचालन हुँदै



काठमाडौं, मंसिर ६ । नेकपा (एमाले)को दसौँ राष्ट्रिय महाधिवेशनमा दुई सय ५० भन्दाबढी चिकित्सक परिचालन गरिने भएको छ ।

महाधिवेशनअन्तर्गतको स्वास्थ्य समितिले महाधिवेशनका लागि चिकित्सकसहितको सबै व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ । स्वास्थ्य समितिको संयोजक भानुभक्त ढकाल र उपसंयोजक वैकल्पिक केन्द्रीय सदस्य रचना खड्का सहसंयोजक तोकिएका छन्।

समितिका सदस्यले चितवनमा गएर खुलासत्र हुने नारायणी नदीको किनार र बन्दसत्र हुने सेभेन स्टार होटेलको अवलोकन गरिसकेको छ । आवश्यक सङ्ख्यामा तयारी अवस्थामा एम्बुलेन्ससमेत राखिने समितिले जनाएको छ ।

महाधिवेशन उद्घाटनका दिन मङ्सिर १० गते नारायणी नदी किनारमा चिकित्सकहरुको नेतृत्वमा औषधि र उपकरणसहितको चारवटा स्टल राख्ने तयारी भएको हो । बन्दसत्रका लागि सेभेन स्टार होटेल नजिकै रहेको लायन्स क्लबको भवनमा चारवटा सटर राखेर नियमित चेकजाँचसहितको आपत्कालीन चिकित्सकीय सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

समितिमा रहेका डा कृष्ण अधिकारी र डा सन्तोष पौडेलले दुई दिनअघि चितवनमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीसँग छलफल गरेर आवश्यक व्यवस्थापन टुङ्गो लगाईसकेका छन् । फिल्डमा खटिने अधिकांश चिकित्सक चितवन र आसपास क्षेत्रका रहेका छन्।

समितिले होटेलमा रहेका प्रतिनिधिहरुका लागि आपत्कालीन स्वास्थ्य समस्या आइपरे नजिकका अस्पतालमा लगेर निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।



प्रतिक्रिया दिनुहोस्