काठमाडौं, ६ मंसिर । नेपाल बारको आन्दोलनको विरुद्धमा जनमत बढ्दै गएको छ। स्वतन्त्र कानून व्यवसायीहरुले नै बारको आन्दोलन गलत नियत र उद्देश्य राखेर गरिएको भन्दै बारको आन्दोलनविरुद्ध अर्को प्रदर्शन सुरु गरेका छन् ।
बारको आन्दोलनले गर्दा आम जनताले न्याय सम्पादनमा बाधा भोग्नुपरेको भन्दै त्यसको विरोधमा आज स्वतन्त्र कानून व्यवसायीहरु र सचेत युवाहरुले बारको आन्दोलनको विरुद्धमा बृहत्त प्रदर्शन गरेका हुन् ।
उनीहरुले नयाँ बानेश्वरस्थित् एभरेष्ट होटल आसपासबाट प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनमा ठूलो संख्यामा सचेत युवाहरुको सहभागिता रहेको छ ।
उनीहरुले बोकेको प्लेकार्डमा ’कानूनी सर्वोच्चता कायम गर!’, ’स्वतन्त्र न्यायपालिका, हाम्रो चाहना!’, ’विधिको शासन कायम गर!’, ’दबावको शासन अन्त्य गर!’ लगायतका नाराहरु लेखिएका छन् । प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुले बारको आन्दोलनको औचित्य समाप्त भएको टिप्पणी गरेका छन् ।
अदालतमा बारमा आवद्ध र दलीय संलग्नता भएका वकिलहरुले बहस/पैरवी नगरेपनि स्वतन्त्र र बरिष्ठ अधिवक्ताहरुले भने बहस÷पैरवी थालिसकेका छन् । अदालतमा सबै प्रकृतिका मुद्दाहरुको सुनुवाई धमाधम भैरहेको छ । सबै न्यायाधीशहरु इजलासमा फर्किसकेका छन् । Photo Source: Purnapaath