काठमाडौं, ६ मंसिर । नेपाली काँग्रेसको आज निर्वाचन क्षेत्र तहको महत्वपूर्ण अधिवेशन भइरहेको छ । आजको अधिवेशनबाट १ सय ४९ निर्वाचन क्षेत्रका ३ हजार ७ सय २५ प्रतिनिधि चयन हुँदैछन् ।
काठमाडौं उपत्यकासहित देशका बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा प्रतिनिधि चयन भइरहेको छ । जसमा काँग्रेसको केन्द्रीय पदाधिकारी देखि केन्द्रीय सदस्यका दाबेदारहरु पनि प्रतिनिधि चयनको प्रतिष्पर्धामा छन् ।
सभापति र पदाधिकारीका आकांक्षीले आजको अधिवेशनलाई महत्वका साथ हेरेका छन् । आजको प्रतिनिधि चयनले कस्को कति शक्ति भन्ने आँकलन गर्न सजिलो हुनेछ ।
काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र सुजाता कोइराला सभापतिका दाबेदार छन् । उनीहरु जतिसक्दो बढीभन्दा बढी आफूनिकटस्थहरुलाई महाधिवेशन प्रतिनिधि बनाउन सक्रिय छन् ।
पश्चिममा शेरबहादुर देउवा, गण्डकी प्रदेशमा रामचन्द्र पौडेल, पूर्वमा कोइराला परिवार र कृष्णप्रसाद सिटौला, काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा प्रकाशमान सिंह, प्रदेश नं २ मा विमलेन्द्र निधिले बढी ध्यान खिचेका छन् । उक्त क्षेत्र उनीहरुको गृहक्षेत्र पनि हो ।
काँग्रेसमा आजै क्षेत्रीय सभापति र महासमिति सदस्य पनि चयन हुनेछन् ।
काँग्रेस विधानमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा वडा तहबाट निर्वाचित भएका प्रतिनिधिहरु मतदाता हुन्छन् । सो क्षेत्र भित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्व पदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेश सभा सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनका लागि सदस्य हुने भएकाले मतदाता हुनेछन् ।
हरेक प्रतिनिधि सभा क्षेत्रबाट सभापतिसहित कुल २५ जना महाधिवेशन प्रतिनिधि हुन्छन् । जसमध्ये ४ महिलासहित १४ जना प्रत्यक्ष र बाँकी महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट १० जना प्रतिनिधि चयन हुने व्यवस्था छ । महाधिवेशन प्रतिनिधि हुनका लागि क्रियाशील सदस्यता लिएको ४ वर्ष पुगेको हुनुपर्ने व्यवस्था छ ।