Logo

बारको नेतृत्व किन खनियो गृहमन्त्री खाँणसँग, दादागिरीको शैलीमा ‘गृहमन्त्री राजीनामा दे’ को नारा लगाईयो



काठमाडौं, ६ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलन दिनानुदिन कमजोर र करिब तुहिने अवस्थामा पुगेको बेला बारको नेतृत्मा बसेका पदाधिकारीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग्न थालेपछि सामाजिक सञ्जालदेखि विभिन्न पब्लिक फोरममा बारको आन्दोलनको औचित्यबारे प्रश्न उठ्न थालेको छ । बार अदालतको सारथी हो, तर पछिल्लो समय अदालतमा अराजकता सिर्जना गर्न र भाँडभैलो मच्चाउनेगरि बारको आन्दोलन सोझिन थालेपछि न्याय क्षेत्रका विज्ञहरु चिन्तित हुन थालेका छन् । निजी व्यक्तिका घरमा अमुक अमुक व्यक्तिहरु बसेर बारको आन्दोलन व्यक्तिविषेशप्रति केन्द्रित गर्न थालेपछि आन्दोलनमा सहभागी हुने कानून व्यवसायीहरु नै अब आन्दोलन सरिक हुन छोडेका छन् ।

कतिपयले त बारका दाई डनहरुले आन्दोलनलाई गलत रुपमा प्रयोग गरेको र आफूले भनेजबमोजिम नभएकोले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि व्यक्तिगत ईगो साँध्नको लागि मात्रै राजीनामा मागेको पोल खुलेपछि कानून व्यवसायीहरु बरु घरमै घाम तापेर बस्न थालेका छन् । तर, बारको आन्दोलनमा आउन छाडेका छन् । कतिपयले त यो बारको आन्दोलनमा घुसपैठ भएको र गैरकानूनी व्यक्तिहरु (गैरवकिल) सहभागी भएको कुरापनि उठाएका छन् । अदालतमा दिनानुदिन भीड जम्मा गराएर भाँडभैलो मच्चाउन खोजेपछि सरकारले अदालत परिसरमा कुनै अप्रिय घट्ना नहोस भनेर प्रहरी प्रशासन चुस्तदुस्त राखेको विषयलाई पनि बारका नाईके वकिलहरुले प्रधानन्यायाधीश जबराले बल प्रयोग गरेको भनेर गलत आरोप लगाए ।

जबकी प्रहरी प्रशासन प्रयोग गर्ने भनेको गृह मन्त्रालयले हो । अहिले गृहमन्त्रालयको नेतृत्व कांग्रेस नेता बालकृष्ण खाँणले गरिरहेका छन् । उनले स्वतन्त्र न्यायापालिकामा अप्रिय घट्ना नहोस भनेर बलियो सुरक्षा प्रवन्ध गरेको विषयमा उल्टै बारका पदाधिकारीले नै उनको राजीनामा मागेर कानूनी राज्यको धज्जी उडाएका छन् । खाँण तिनै गृहमन्त्री हुन, जसले बारको आन्दोलनमा वाईसिएलको घुसपैठ भएको छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गर्ने नेता हुन् । बारको आन्दोलनमा भएको घुसपैठको असलियत खोलिदिएपछि बारका दाई डनहरुले उनीप्रति रिसिईबी साँधेको र अहिले आएर उनको राजीनामा मागेको हो भन्ने कांग्रेस वृत्तमा चर्चा समेत चल्न थालेको छ ।

यसअघि प्रधानन्यायाधीश जबराको राजीनाामा मात्रै मागेर एक सूत्रीय माग पेश गरिरहेका वकिलहरुले अहिले गृहमन्त्रीको राजीनामा माग्नुमा सबैभन्दा ठूलो हात बारका पूर्व अध्यक्ष शम्भु थापाको हात रहेको पाईएको छ । बार परिसरमा आयोजित कार्यक्रममा थापाले यसअघि ‘हामीले राजीनामा मागिसक्यौं, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए । थापाकै सिको गरेर बारका उपाध्यक्ष ईश्वरी भट्टराईले हालै गृहमन्त्री खाँणको राजीनामा मागे । उनले गृहमन्त्री राजीनामा देउ भन्ने नारा नै घन्काएका थिए ।

पछिल्लो समय स्वतन्त्र न्यायापालिकाको हुर्मत लिनेगरि आन्दोलन हुनु दुःखद् भएको कानून क्षेत्रका ज्ञाताहरुको टिप्पणी छ । उनीहरुले केही थान बरिष्ठ वकिलहरुले जे भन्यो, त्यही गर्न थालियो भने स्वतन्त्र न्यायापालिकाको ओझतोज, रापताप सबै एक क्षणमा समाप्त हुने उनीहरुको भनाई छ । संवैधानिक तवरबाट प्रधानन्यायाधीश जबरालाई चूनौति दिन नसक्ने भएपछि उनीहरुले ‘दादागिरी’ शैली अपनाएको हुनसक्ने पनि उनीहरुको टिप्पणी छ ।

प्रधानन्यायाधीश जबराले न्यायापालिकाको सुधारको लागि जस्तोसुकै कदम चाल्न पनि आफू सधैं तयार रहेको भनेर भनिरहेका छन् । उनले असन्तुष्ट र आन्दोलनरत कानून व्यवसायीहरुलाई पनि वार्ताको लागि पटक पटक आह्वान गरेका छन् । तर, मिडिया खपतको लागि बारकै नेतृत्वमा बसेकाहरुले प्रधानन्यायाधीशले वार्ताको लागि पत्राचार गरेको तर आफूहरु नजाने भनेर बाहिर अभिव्यक्ति दिन थालेका छन् । हुन त अहिले अदालत नियमित काममा फर्किएको छ । बन्दीप्रत्यक्षीकरणलगायतका सबैखाले मुद्दाहरुको सुनुवाई भैरहेको छ । तर, प्रधानन्यायाधीशले भने सहमति र समझदारीमा न्यायालय अघि बढाउनुपर्ने भन्दै यसको लागि वार्ताबाट समाधान खोज्न सार्वजनिक रुपमै अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्