Logo

वकिलहरुको दादागिरी बढ्दो, रामशाहपथको आन्दोलन तुहिएपछि निषेधित क्षेत्र बालुवाटारमा मार्चपास गर्ने घोषणा



काठमाडौं, ७ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलन कमजोर भएपछि अहिले बारका पदाधिकारीले राजनीतिक दल गुहार्न थालेका छन् । हिजोबाट उनीहरुले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई भेटेका हुन् । आजबाट बारको आन्दोलनमा अत्यन्तै थोरै संख्यामा कानून व्यवसायीहरुको उपस्थिति हुन थालेको छ । बारका दाई डनहरुको निर्देशबमोजिम हुँदै आएको आन्दोलनमा कानून व्यवसायीहरुले साथ दिन छोडेपछि अहिले आन्दोलनको नेतृत्व गरिरहेकाहरु दल गुहार्न व्यस्त भएका छन् । हुँदाहुँदै अब उनीहरुले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने घोणा गरेका छन् ।

सर्वोच्चमा जारी धर्ना कार्यक्रममा बारले बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने घोषणा गरिसकेको छ । उक्त मार्चपासमा नागरिक समाजका अगुवाई पनि गुहारिएको छ। बारको आन्दोलन दिनप्रतिदिन कमजोर हुँदै गएपछि बारका डन दाईहरुले नागरिक समाजका अगुवाई गुहार्न थालेका छन्। बारको आन्दोलनको बावजुद पनि सर्वोच्च अदालतमा सबै प्रकृतिका मुद्दाको सुनुवाई धमाधम भैरहेको छ ।

अधिकांश कानून व्यवसायीहरु नियमित बहस÷पैरवीमा फर्किसकेका छन् । यसले पनि आन्दोलनको मोर्चा सम्हालेका र चर्को स्वरमा बोल्ने अधिवक्ताहरुलाई अहिले फेश सेभिङको चिन्ता छ । उनीहरुले असंवैधानिक तवरबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउने षड्यन्त्र गरेका थिए । तर, त्यो षड्यन्त्र असफल भएपछि उनीहरुले अहिले अर्कै बाटो समात्न उद्धत छन् । तर, त्यो बाटोपनि धेरै नै चूनौतिपूर्ण हुने विश्लेषकहरुको बुझाई छ ।

प्रधानन्यायाधीश जबराले त सुरुका दिनदेखि नै आफू संवैधानिक तवरले नियुक्त भएको व्यक्ति भएकोले हटाउने भए संवैधानिक बाटो समाउ भनेर सार्वजनिक रुपमै चूनौति दिएका थिए । तर, बारले भने त्यो बाटो नअपनाएर गलत बाटो रोजेको थियो । जुन बारको लागि नै प्रत्युत्पादक भयो । कतिसम्म भने सडकबाट नै शम्भु थापाले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका थिए । उनले आफूहरुले मागेपछि राजीनामा नदिने को हो ? भन्दै प्रश्न गरेका थिए ।

अहिले बारका पदाधिकारीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन्। कानून क्षेत्रका ज्ञाताहरुले अहिले वकिलहरुको दादागिरी बढ्दो रहेको टिप्पणी गर्न थालेका छन् । उनीहरुले रामशाहपथको आन्दोलन तुहिएपछि वकिलहरुले दिनप्रतिदिन तमाशा गर्न थालेको पनि गुनासो गर्न थालेका छन् । बारले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने घोषणा गर्नुलाई पनि उनीहरुले त्यही रुपले बुझेका छन् । निषेधित क्षेत्र बालुवाटारमा मार्चपास गर्ने घोषणा गर्नु नै वकिलहरुको दादागिरी भएको भनेर आलोचना हुन थालेको छ ।

अदालत निर्वाध रुपमा चल्नुपर्छ भनेर अहिले सचेत तथा स्वतन्त्र युवाहरुले सडकमा प्रदर्शनसमेत गरिरहेका छन् । उनीहरुले वकिलहरुले राजनीतिक उद्देश्य राखेर आन्दोलन गर्नु नै गलत भएको पनि अभिव्यक्ति दिईरहेका छन । न्याय पाउने क्षेत्रलाई नै अस्तव्यस्त बनाउन वकिलहरुले गलत भूमिका खेलेको भन्दै युवाहरुले अब आन्दोलनमा उत्रिने वकिलहरुको विरुद्धमा सशक्त प्रदर्शन गर्ने पनि चेतावनी दिएका छन् । उनीहरुले वकिलहरुलाई तत्काल आन्दोलन फिर्ता लिएर बहस/पैरवीमा आउन भनेका छन् । बहस तथा पैरवीमा नआए बारभित्र पसेर बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित आन्दोलनकारीलाई कालो मोसो र जुत्ताको माला लगाउन नपरोस भन्ने पनि युवाहरुको सामाजिक सञ्जालमार्फत चेतावनी छ । file photo



प्रतिक्रिया दिनुहोस्