काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको १०औं महाधिवेशनमा सम्बोधन गर्ने भएका छन्। यसअघि नै महाधिवेशनमा अतिथिको रुपमा बोलाएकोमा जाने निर्णय गरिसकेका देउवाले उद्घानको दिन सम्बोधन गर्ने भएका हुन् । देउवा भोलि (शुक्रबार) चितवन जाँदैछन् । उनले महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले नेताहरुले जनाएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्ने कार्यक्रम रहेको छ । उनी हेलिकप्टरबाट चितवन जाने कार्यक्रम रहेको छ । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उनी फर्कनेछन् ।
एमालेले वक्ताको रुपमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई पनि निम्तो दिएको छ । तर, दाहालले भने आफू जाने/नजाने बारे अहिले कुनै तय नभएको जनाएका छन् । उनले यसबारेमा पार्टीमा छलफल गर्ने अनि निर्णय लिने भनेर चितवनमा आयोजित एक कार्यक्रममै भनेका थिए । file photo