Logo

‘कम्युनिष्ट विचारले समाजलाई आर्थिक समृद्धितर्फ प्रेरित गर्छ’



काठमाडौँ, ९ मङ्सिर: नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले कम्युनिष्ट विचारले समाजलाई आर्थिक समृद्धिका साथै नागरिकलाई अनुशासित बन्न प्रेरणा प्रदान गर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपालको ललितपुर जिल्ला कमिटी घोषणासभामा उनले चीनले हासिल गरेको प्रगतिबाट हामीले पनि अनुशासित भई आर्थिक पारदर्शिता अपनाएर राष्ट्र निर्माणको शिक्षा लिनुपर्ने बताए । समाजवादी प्रेस सङ्गठनका केन्द्रीय अध्यक्षसमेत रहेका श्रेष्ठले आफ्नो पार्टी कम्युनिष्ट विचारमा मूलधारको पार्टी भएकाले यस सिद्धान्तप्रति आस्थावान समूहलाई एकताबद्ध हुन आग्रह गरे । उनले समाजवादी विचारबाट निर्देशित सञ्चारकर्मीले जनताको चाहना अनुसार सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए ।

पार्टीका केन्द्रीय सदस्य अमृत तिमिल्सिनाले समाजका विभिन्न तहमा जनतालाई परेका समस्यालाई समाचार बनाएर उनीहरुका आवाजलाई पार्टीका नीति तथा कार्यक्रममा जोड्न सञ्चारकर्मीले भूमिका निर्वाह गर्नुपर्ने बताए । सङ्गठनका उपाध्यक्ष शन्तराम बिडारीले देशमा विकास, स्थायित्व र राजनीतिक स्थिरताका लागि जनताले विश्वास गरेर कम्युनिष्ट पार्टीलाई अवसर दिएको भए पनि तत्कालीन नेतृत्वमा भएको अहङ्कारले कम्युनिष्ट आन्दोलन कठिन मोडमा पुगेकामा चिन्ता व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईँ, वामपन्थी नेता हरिकृष्ण थापा, पत्रकारद्वय विश्वमणि सुवेदी र सविन शर्माले कलमजीवी पत्रकार श्रमजीवीको पक्षमा क्रियाशील रहनुपर्ने बताए । कार्यक्रममा सौगात मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको घोषणा गरिएको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्