Logo

एमाले महाधिवेशनः उद्घाटनमा उर्लियो मानव सागर



चितवन, मंसिर ११। देशको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन भव्य समारोहबीच शुक्रबार नारायणी नदी किनारमा उद्घाटन गरिएको छ । चितवनमा उर्लिएको लाखौं मानवसागरका बीच महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।

महाधिवेशन उद्घाटन सत्रमा देशभरका गरी ६ लाख कार्यकर्ता, समर्थक, सहभागी भएको एमाले चितवनले जनाएको छ । एमालेकी चितवन जिल्ला अध्यक्ष पार्वती रावलले महाधिवेशनमा देशभरबाट ६ लाख नेता कार्यकर्ता आएको दाबी गरिन् । उनले महाधिवेशनमा सहभागीको संख्या अत्यधिक भएर आधा कार्यकर्ता उद्घाटन स्थलसम्म आउन नसकेको जानकारी दिइन् ।

देशभरका ७७ जिल्ला, ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वटै वडाबाट आएका लाखौं जनता, स्वेदशी तथा विदेशी पाहुनाबीच एमाले अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गरेका हुन् । महाधिवेशन उद्घाटन हुनुपूर्व नवलपुर र चितवनका विभिन्न स्थानबाट जनप्रदर्शन गरिएको थियो ।

उद्घाटन अगाडि आयोजित (यालीमा एमाले र अध्यक्ष ओलीको पक्षमा नारासमेत लगाइएको थियो । उद्घाटनका क्रममा राष्ट्रिय जनसांस्कृतिक मञ्चका कलाकारले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । यस्तै, कार्यक्रममा एमालेको सरकारका पालामा भएका महत्वपूर्ण उपलब्धि समेटेर तयार गरिएको डकुमेन्ट्री पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नारायणगढ बजारमा सवारी चलेका थिएनन् । बजार क्षेत्रमा कार्यक्रममा सहभागीहरूको भिड देखिएको थियो । पूर्वी क्षेत्रबाट आउने सवारीसाधन पास नभएका कारण झन्डै ३ किलोमिटरसम्म सहभागीले पैदल यात्रा गरेका थिए । जिल्लाका ७ स्थानबाट बाजागाजासहितको जुलुस निकालिएको थियो ।

एमाले महाधिवेशनमा आएका नेता, कार्यकर्ता, शुभेच्छुक, प्रतिनिधि तथा पर्यवेक्षकहरूले नारायणी नदी किनार भरिभराउ भएको थियो । महाधिवेशनको उद्घाटन सत्र प्रत्यक्ष रूपमा हेर्नका लागि नवलपुर र चितवनतर्फ नारायणी नदीकिनारमा ठूला ठूला एलईडी डिस्प्लेसमेत राखिएको थियो ।

चितवनको इतिहासमा यति धेरै मानिस जम्मा भएको यो पहिलोपटक भएको जिल्ला अध्यक्ष रावलको भनाइ छ । महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनारमा नअटाएपछि कार्यकर्ताहरू नारायणगढ बजारमा छरिएका थिए ।

५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ राखिएको थियो । सुरक्षाका लागि प्रशासनले १५ सय सुरक्षाकर्मी परिचालन गरेको थियो । नारायणगढ बजार क्षेत्रमा मालवाहक सवारीसाधन आवतजावतमा रोक लगाइए पनि आत्यावश्यक सवारीसाधन चल्न पाएका थिए ।

महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका ८ सय, सशस्त्र प्रहरीको ४ सय ५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन भएका थिए । त्यस्तै, चितवनसँग सिमाना जोडिएको नवलपुरको गैंडाकोटबाट नेपाल प्रहरीका सयभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । महाधिवेशन स्थलमा आवतजावत सहज बनाउन आसपासका १३ ठाउँमा गाडी पार्किङस्थल तयार गरिएको थियो ।

आज शनिबारबाट बन्दसत्र सुरु हुने भएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot