काठमाडौं, मंसिर ११। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष मात्रै निर्वाचन प्रक्रियाबाट चुन्ने गरेकोमा ३१ वर्षको इतिहासमा पहिलोपटक अध्यक्षबाहेकका पदाधिकारी पनि महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियाबाटै चुन्ने भएको छ ।
राप्रपाले बिहीबार पार्टीको विधानमा गरिएको संशोधनलाई केन्द्र्रीय कार्यसम्पादन समितिको बैठकबाटै पारित गर्दै अध्यक्षबाहेकका सात पदाधिकारी निर्वाचन प्रक्रियामार्फत चुन्नेगरी विधानमा व्यवस्था गरेको हो । कार्यसम्पादन समितिबाट पारित विधानअनुसार राप्रपाको केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ ।
राप्रपा नेता मोहन श्रेष्ठले संशोधित विधान केन्द्रीय कार्यसम्पादन समितिबाट पारित भएको र पारित विधानअनुसार अध्यक्षसहित सात पदाधिकारी निर्वाचनमार्फत चुन्ने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार संशोधित विधानलाई आगामी महाधिवेशनबाट अनुमोदन गरिने छ भने अनुमोदनपछि यही महाधिवेशनबाट लागू गरिने छ ।
राप्रपाको केन्द्रीय नेतृत्व चयन गर्ने प्रक्रियाका लागि १५ देखि १७ मंसिरसम्म काठमाडौंमा महाधिवेशन हुँदै छ । राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिबाट पारित विधानको मस्यौदामा केन्द्रीय समितिका अध्यक्ष, एक महिलासहित ३ जना उपाध्यक्ष, एक महिलासहित ३ महामन्त्री निर्वाचनबाट चयन हुने व्यवस्था छ ।
राप्रपा नेता निरञ्जन थापा नेतृत्वको विधान संशोधन सुझाव समितिले तयार गरेको विधान संशोधनको मस्यौदा परिमार्जनसहित पारित गरिएको हो ।
सो विधानअनुसार राप्रपाको केन्द्रीय समितिमा एक जना अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, १ जना कोषाध्यक्ष, प्रवक्ता, सहायक प्रवक्ता, ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित केन्द्रीय सदस्यसमेत गरी १ सय ९९ सदस्यीय कार्यसमिति हुने भएको छ । तर, प्रवक्ता र सहायक प्रवक्ताको संख्या भने उल्लेख छैन ।
केन्द्रीय समितिमा ७५ प्रतिशत अर्थात् १ सय ४९ जना भने निर्वाचन प्रक्रियाबाट चयन हुनेछन् । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना महिला हुनेछन् भने बाँकी सय जना पुरुष हुनेछन् । राजधानी दैनिकबाट