Logo

मीनकृष्ण महर्जन जब भद्र सहमति ताड्दै फरक समूहमा यसरी उभिए…



ललितपुर, १२ मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापतिको उम्मेदवारी घोषणामध्ये एउटा रोचक घटना देखियो । जीतेन्द्रकुमार श्रेष्ठ र मीनकृष्ण श्रेष्ठ दुवैले एकसाथ एउटै मञ्चमा उभिएर सभापतिको उम्मेदवारी घोषणा गरे । उनीहरुको प्यानलमा उपसभापति, सचिव, सहसचिवलगायत पदाधिकारी तथा सदस्यहरु एउटै थिए । सभापति मात्र अलग रुपमा उम्मेदवार थिए ।

श्रेष्ठ र महर्जनसहित रामकृष्ण चित्रकार उम्मेदवार थिए । श्रेष्ठ र महर्जनबीच पहिलो चरणमा जस्को मत बढी आउँछ दोस्रो चरणमा जाँदा एकले अर्कोलाई सघाउने सहमति बनेको थियो । यो भद्र सहमति अनुसार शनिबार मतदान भयो ।

मत परिणाम अनुसार तीनैजना उम्मेदवारले ५० प्रतिशत मत ल्याउन सकेनन् । सबैभन्दा बढी मत रामकृष्ण चित्रकारले ५०४ ल्याए । दोस्रोमा जीतेन्द्रकुमार श्रेष्ठले ४८२ र तेस्रोमा मीनकृष्ण महर्जनले ३३६ मत ल्याए । मीनकृष्ण रिङ आउट भए ।

भद्र सहमति अनुसार मीनकृष्णले जीतेन्द्रकुमार श्रेष्ठलाई सघाउनुपर्ने थियो । तर, उदय शमशेर राणाबाट धोका पाएको भन्दै उनले फरक निर्णय लिए । उनले निवर्तमान सभापति मदनबहादुर अमात्यसँग बैठक बसेर चित्रकारलाई सघाउने निर्णय लिए । यसकारण चित्रकार जित्ने सम्भावना बलियो बन्यो ।

भद्र सहमति उल्लंघन गरेको भन्दै मिनकृष्ण महर्जनका समर्थकहरु उनीसँग असन्तुष्ट बने । विशेषगरी ललितपुर क्षेत्र नम्बर १ मा रहेका दुई गाउँपालिकाका मतदाताहरु श्रेष्ठको पक्षमा उभिए ।

दोस्रो चरणको मतदानमा मीनकृष्ण महर्जन रामकृष्ण चित्रकारको फोटासहितको ट्याग राखेर मत माग्न थाले । उनले भद्र सहमति तोडेको भन्दै उनकै पक्षधर रुष्ट भए । जसका कारण उनले प्राप्त गरेको ३३६ मतमध्ये आधा पनि चित्रकारको पक्षमा खसेन ।

चित्रकारले पहिलो चरणमा प्राप्त ५०४ मतमा १४९ मत मात्र थप्न सके । जीतेन्द्र श्रेष्ठले पहिलो चरणमा ४८२ मत पाएकोमा दोस्रो चरणमा १८३ मत थपे । उनले महर्जनलाई खसेको मतमध्ये आधाभन्दा बढी तान्न सके ।

केन्द्रको राजनीतिबाट पनि ललितपुरको राजनीति प्रभावित भएको बुझिएको छ । जीतेन्द्र श्रेष्ठ काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् । उनलाई केन्द्रीय सदस्य सुजाता कोइरालाको पनि बलियो समर्थन रह्यो । जिल्लामा देउवा पक्षबीचको टकरावको असर पनि पर्यो । उनलाई संस्थापन पक्षका उदय शमशेर राणा र जीतजङ्ग बस्नेतको पनि समर्थन थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot