![](https://reportersnepal.com/wp-content/uploads/2021/11/Sudan-Ethiopia-borderline-problem-768x504.png)
एजेन्सी, १२ मंसिर । सुडान र इथियोपियाबीचको तनाव बढेर भिडन्तको स्थिति बनेको छ । अफ्रिकाका यी दुई मुलुकबीच बढ्दो सीमा समस्याका कारण सैनिक भिडन्तको स्थिति बनेको हो ।
इथियोपियाली सैनिकले विवादास्पद सीमा क्षेत्रमा आक्रमण गरेपछि प्रत्याक्रमण गरेको सुडानको सैनिकले जनाएको छ । उक्त घटनामा ६ जना इथियोपियाली सैनिक मारिएका छन् ।
सुडानको सेनाले शनिबार विज्ञप्ति जारी गरी इथियोपियाली सैनिकले कृषि उत्पादन भित्राउने समयमा अवरोध सृजना गर्न खोजेपछि भिडन्त भएको जनाएको छ ।
सुडानतर्फ पनि हताहती भएको बुझिएको छ । तर, संख्याबारे खुलाइएको छैन । रोयर्टर्सले कम्तिमा ६ जना सैनिक मारिएको सैनिक स्रोतलाई उदृत गर्दै लेखेको छ ।
घटना अल फसाक सीमा क्षेत्रमा भएको हो । इथियोपियाली सैनिकले उक्त क्षेत्रमा आफ्ना कृषकले उत्पादन गरेको दाबी गर्दै आएको छ । यो क्षेत्र विवादास्पद टिग्रे क्षेत्रमा भएको हो जहाँबाट हजारौं शरणार्थी सुडान पसेका छन् । उक्त क्षेत्रमा विवादका कारण सुडान र इथियोपियाबीच तनाव छ ।-Photo Source: Reuters