काठमाडौं, मंसिर १४ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश अधिवेशनको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका सच्चाएको छ ।
आगामी मंसिर १६ र १७ गते प्रदेश अधिवेशनका लागि मंसिर १५ गते उम्मेदवारी दर्ता गर्ने सर्कुलर जारी गरिएकोमा उम्मेदवारी दर्ताको मिति मंसिर १७ गते सारिएको छ । अधिवेशनका लागि उम्मेदवारी दर्ताको मिति सरेपनि अधिवेशन भने पूर्वनिर्धारित मितिमै हुने जनाईएको छ ।
कांग्रेसले प्रदेश नम्बर १ को अधिवेशन विराटनगरमा गर्न लागेको छ भने प्रदेश नम्बर २ को अधिवेशन जनकपुरमा गर्न लागेको छ ।
वागमती प्रदेशको अधिवेशन हेटौंडामा हुनेछ भने गण्डकी प्रदेशको अधिवेशन पोखरामा हुनेछ । त्यस्तै, लुम्बिनी प्रदेशको अधिवेशन बुटवलमा, कर्णालीको अधिवेशन सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा गरिने निर्वाचन समितिले जनाएको छ ।
आगामी मंसिर २४ देखि २६ सम्म केन्द्रीय महाधिवेशन गर्न लागेको कांग्रेसले तल्लो तहको अधिवेशनअन्तर्गत केही जिल्लाबाहेक जिल्लासम्मको अधिवेशन सकाएको छ ।