Logo

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लागेसँगै बेलायत प्रवेशमा आजबाट थप कडाइ



एजेन्सी, १४ मङ्सिर। कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लागेसँगै विभिन्न मुलुकसँगको हवाइ सेवा बन्द गरेको बेलायतले आज (मंगलबार)बाट थप कडाइ गरेको छ । बेलायतले गत शुक्रबारदेखि ओमिक्रोन नाम दिइएको नयाँ भेरियन्ट पुष्टि भएको र भेटिन सक्ने खतरा रहेका देशहरुबाट हुने उडानमा प्रतिबन्ध लगाएको थियो । बेलायतले आजबाट थप कडाइ गर्दै सार्वजनिक यातायात र पसलहरु, हेयरड्रेसर, बैंक तथा पोष्ट अफिसलगायतमा मास्क अनिवार्य गरेको छ ।

बेलायत भित्रिने सबै यात्रुहरुले प्यासेन्जर लोकेटर फर्मका साथै अनिवार्य रुपमा ४८ घण्टा भित्रको पिसीआर टेष्टसमेत बुक गरेको हुनुपर्ने । पिसीआर टेष्ट बुक नगरि आएका यात्रुलाई तत्कालै एक हजार पाउण्ड जरिवाना गरिनेछ । बेलायत आउने हरेक यात्रुले दुई दिन मात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने र बेलायत पुगेपछि पनि पिसिआर टेष्ट गरिने छ ।यसरी गरिएको परीक्षणमा यदि कोरोना भाइरस पोजेटिभ देखिएमा आफै आइसोलेसनमा बस्नुपर्ने र नेगेटिभ रिपोर्ट आएपछि मात्र बाहिर निस्किन पाउने बताइएको छ । हालै अफ्रिकामा देखिएकोे भनिएको नयाँ भाइरस बेलायतमा देखिएको कुरा त्यहाँका स्वास्थ्य मन्त्री सजिद जाभिदले शनिबार जानकारी दिएका छन् ।

यो भाइरसको सङ्क्रमण देखिएका दुई जनालाई आइसोलेसनमा राखिएको र उनीहरुको थप स्वास्थ्य अनुसन्धान जारी रहेको पनि उनले बताएका छन् । बेलायतका प्रधानमन्त्रीले यो भाइरसको प्रभाव अहिलेको भन्दा निकै खतरनाक रहेको भन्दै थप प्रतिबन्धहरुका बारेमा जानकारी दिएका हुन् ।

उनले हाललाई विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने जानकारी दिएका हुन् । साथै बेलायतमा यात्राका क्रममा तथा सार्वजनिक यातायातमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने नियम पनि सार्वजनिक गरिएको बताइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot