Logo

विदेशबाट फर्किएका तीन सय ५० जना २० केजी सुनसहित पक्राउ



काठमाडौँ, १४ मङ्सिर। व्यक्तिगत प्रयोजनको गहनाका नाममा विदेशबाट सुन तस्करी गर्ने समूहविरुद्ध भन्सार कार्यालयले अप्रेसन थालेको छ । सोमबार एकैदिन तीन सय ५० जना पक्राउ परेका छन् । उनीहरुबाट करिब २० किलो सुन बरामद गरी त्यसको भन्सार तिराइएको छ ।गहनाका नाममा तस्करी बढेपछि अप्रेसन थालिएको भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाले बताएका छन् ।

यसरी विदेशबाट सुनका गहना ल्याउँदा भन्सारमा स्वघोषणा गर्नुपर्ने प्रावधान छ । ५० ग्रामसम्म गहना बनाएर ल्याउँदा भन्सार तिर्नुपर्दैन । तर, काँचो सुन ल्याउँदा भने भन्सार तिर्नुपर्छ । काँचो सुनलाई थोरै पगालेर गहना जस्तो बनाएर ल्याउने र नेपालमा बिक्रि गर्ने गिरोहविरुद्ध भन्सारले कारबाही थालेको हो । जसअनुसार एकैदिन तीन सय ५० भन्दा धेरैलाई नियन्त्रणमा लिई भन्सार महसुल तिराइएको विमानस्थल प्रहरीका प्रमुख एसएसपी राजेश बाँस्तोलाले बताए ।

खासगरी वैदेशिक रोजगारबाट फर्कने कामदारलाई भरियाका रुपमा प्रयोग गरी यसरी सुन तस्करी हुँदै आएको छ । उनीहरुलाई केही खर्च दिएर ५० ग्राम सुन बोकाउन लगाउने र विमानस्थलमा संकलन हुने गरेको छ । यस्तो तस्करीले राज्यलाई ठूलो घाटा भएपछि भन्सार एक्सनमा उत्रिएको हो । कतिसम्म भने भारतीय गिरोहले समेत नेपालको विमानस्थल हुँदै यसरी सुन तस्करी गराउँदै आएको छ । यस्तो तस्करी गराउने दर्जनौ समूह यूएई र कतारमा सक्रिय छन् । काठमाडौमा सुन पसले, ट्राभल एजेन्सी, गेष्ट हाउसका सञ्चालक लगायत यसमा संलग्न देखिएका छन् ।

दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्