Logo

रावलले पाएको २२३ मतको महत्व



काठमाडौं, १५ मंसिर । नेकपा एमालेको अध्यक्षमा पराजित डा. भीम रावलले कुल खसेको २ हजार ९६ मतमध्ये २२३ मत प्राप्त गरे । यो कुल खसेको मतको १०.६८ प्रतिशत हुनआउँछ ।

रावलको पक्षमा एमालेका कुनैपनि हस्ती नेताहरु खुलेका थिएनन् । अध्यक्षका विजयी केपी शर्मा ओली इतर मानिने हस्ती नेताहरु पनि खुलेनन् ।

एमाले फुटेर नेकपा एस बनेको अवस्थाबीच रावल ओलीसँग संघर्ष गरेरै बस्ने निर्णयमा पुगेका थिए । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल नयाँ दल खोलेर गइसकेका छन् । उनीहरुसँग एमालेको ठूलो पंक्ति छाडेर गएको छ । अर्का हस्ती वामदेव गौतम पनि एमालेमा छैनन् । यस्तो अवस्थाबीच रावलले ओलीसँग चुनाव लड्ने साहस गरे ।

रावलले प्राप्त गरेको २२३ मत आफैमा महत्वपूर्ण छ । कुल खसेको मतमध्ये यो १० प्रतिशतभन्दा बढी हो । एमालेमा कुल २१५३ प्रतिनिधि चयन भएका थिए । ५७ जनाले मतदान गरेनन् ।

एमालेमा ओलीले तयार गरेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीलाई नै सदर गर्ने प्रयास भएको थियो । जसमा कतिपय चर्चित अनुहार पनि परेका थिएनन् । रावलले चुनाव हुनुपर्ने अडान राखे । यसलाई उनले आफ्नो एउटा मुद्दाको जित भएको ठानेका छन् ।

हार्ने जान्दा जान्दै चुनावमा होमिएका रावलले सम्मानजनक मत ल्याए । उनले यसैबाट ओलीविरुद्ध एमालेभित्र संघर्ष गर्ने रणनीति बनाएको देखिन्छ । अब असन्तुष्टहरुलाई संगठित गर्दै जाने रावलले नयाँ शक्ति प्राप्त गरेको विश्लेषण भइरहेको छ । एमाले फुटेर इतर समूह गइसक्दा पनि रावलले १० प्रतिशतभन्दा बढी प्रतिनिधिको साथ पाउनुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot