Logo

विराटनगर विमानस्थलः जग्गाको मूल्यांकन समेत नहुँदा स्थानीयवासी आक्रोशित



विराटनगर, मंसिर १५। विराटनगर विमानस्थललाई अन्तरराष्ट्रिय स्तरको बनाउने योजना अघि बढ्न सकेको छैन । विमानस्थल आसपास १२६ बिघा जमिन अधिग्रहण गर्न रोक्का गरिए पनि १५ महीना बितिसक्दा जग्गाको मूल्यांकन समेत नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् । विमानस्थल विस्तारका लागि तीनओटै तहका सरकारबीच सम्झौता भएको लामो समय भइसके पनि काम शुरू भएको छैन ।

२०७७ भदौ २० गते विराटनगर महानगरपालिका, प्रदेश १ सरकार र नागरिक उड्डयन प्राधिकरणबीच विमानस्थल स्तरोन्नति गर्ने सम्झौता भएको थियो । तर, मुआब्जाका लागि अध्ययन गरेर समयमै सरकारसँग बजेट माग्न नसक्दा विमानस्थलको कुनै पनि काम अघि बढ्न नसकेको हो ।

विमानस्थलको धावनमार्गको लम्बाइ ३ हजार मिटरसम्म विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जग्गा अधिग्रहणमा हुने खर्च संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र स्थानीय सरकारले १० प्रतिशत बेहोर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार सरकारले स्थानीयको १२६ बिघा जमिन अधिग्रहण गर्न जग्गा रोक्कासमेत गरिसकेको छ । जग्गा रोक्का गरिए पनि मुआब्जा दिने विषय अगाडि बढेको छैन । मुआब्जा दिन आवश्यक रकमको जोहो नै नगरी सरकारले जग्गा रोक्का गरिदिएको छ । सरकारले विमानस्थल विस्तारका लागि स्थानीयको १ हजार ४ सय कित्ता जमिन अधिग्रहण गर्न २०७७ चैत २४ को गोरखापत्रमा सूचना निकालेर जग्गा रोक्का गरेको थियो । विराटनगर विमानस्थल पीडित संघर्ष समितिका सदस्य उद्धव कार्कीका अनुसार जग्गा अधिग्रहण गरेको कति सयमसम्म मुआब्जा लिइसक्ने प्रष्टसँग कार्यविधिमा उल्लेख नहुँदा समस्या भएको हो । नगरपालिका र वडा कार्यालयले वर्ष दिनदेखि विमानस्थलको जग्गा भन्दै विकास निर्माणका कामसमेत रोकेको गुनासो उनले गरे ।

प्रदेश १ को उद्योग, वन तथा पर्यटन मन्त्रालयले डीपीआरको काम भइरहेको मात्र बताउने गरेको छ । अहिले सो मन्त्रालय नै मन्त्रीविहीन अवस्थामा छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले केन्द्र र प्रदेश सरकारको बेवास्ताका कारण विराटनगर विमानस्थलको काम अलपत्र बनेको बताए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot