Logo

एमालेमा फेरि ओली नेतृत्व



काठमाडौं, मंसिर १५ । एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

ओलीले एक हजार आठ सय ४० मत ल्याए भने उनका प्रतिस्पर्धी रावलले दुई सय २३ मत पाए। एमालेभित्र लोकतन्त्रलाई जीवित राख्नुपर्ने अडानमा रहेका रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि ओलीको सर्वसम्मत अध्यक्ष हुने प्रयास असफल भएको थियो। तीन दिनमा सक्ने भनिएको महाधिवेशन निर्वाचनमा गएका कारण थप दुई दिन लम्बिएको थियो।

२०७१ सालमा भएको नवौं महाधिवेशनमा प्रतिस्पर्धी माधवकुमार नेपालले भन्दा ४४ मत बढी ल्याएर ओली पहिलोपटक अध्यक्ष भएका थिए।

उनले त्यसबेला एक हजार ४७ र नेपालले एक हजार तीन मत पाएका थिए। ओलीले १०औं महाधिवेशनमा सर्वसम्मत हुने ठूलो कसरत गरेका भए पनि रावलले उम्मेदवारी दिएपछि निर्वाचन भएको हो। एक मत आए पनि पार्टीभित्र निर्वाचन प्रक्रिया र पद्धति बचाउनुपर्छ भन्ने मान्यतामा रावल उभिएका कारण निर्वाचन भएको हो।

मत गणनापछि एमाले केन्द्रीय निर्वाचन आयोगका संयोजक डा। विजय सुब्बाले ओली अध्यक्षमा विजयी भएको घोषणा गरेका थिए। मंगलबार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। दुई हजार एक सय ५३ मतदाता रहेकोमा दुई हजार एक सय १४ जनाले मतदानमा सहभागी भएको जानकारी सुब्बाले दिए।

निर्वाचन नतिजा सार्वजनिक भएपछि अध्यक्ष पदका प्रतिस्पर्धी रावलले आफूले पाएको मत पार्टी र आफ्ना लागि ठूलो सफलता भएको बताएका छन्। नागरिकसँग संक्षिप्त कुरा गर्दै उनले ओली पक्षले उम्मेदवारी नै दर्ता गर्न नदिने योजनाका बीच पनि आफ्नो संघर्षका कारण निर्वाचन भएको बताए।

‘तपाइँहरूलाई थाहै छ लोकतान्त्रिक पद्धतिका लागि मैले पार्टीभित्र कति संघर्ष गर्नुपर्‍यो,मलाई उम्मेदवारी नै दर्ता गर्न नदिने योजना बनाएको अवस्थामा निरन्तरको संघर्षपछि उम्मेदवारी दिएर जति मत पाएको छु,त्यो मेरो र पार्टीका लागि ठूलो सफलता हो,’रावलले भने।

उनले आफ्नो संघर्षका कारण पार्टी केही हदसम्म लोकतान्त्रिक भएको बताए । उनले आफ्नै कारण विधान कार्यान्वयन भएको दाबी पनि गरे। ‘मैले पार्टीभित्र गरेको संघर्षका कारण विधान कार्यान्वयन भएको छ र केही हदसम्म पार्टी लोकतान्त्रिक प्रक्रियामा अगाडि बढेको छ,’ उनले भने।

१०औं महाधिवेशनमा पदाधिकारीका १४ पदका लागि निर्वाचन भएको थियो। चितवनस्थित सौराहामा जारी बन्दसत्रअन्तर्गत सोमबार बिहान १० बजे उम्मेदवारी दर्ता समय सकिएसँगै निर्वाचन कार्यक्रम अघि बढेको थियो।

सोमबार बिहानै अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए। तर सहमतिका लागि भन्दै रातिसम्म मतदान रोकिएको थियो। मंगलबार बिहान ४ बजेबाट मात्रै मतदान सुरु भएको थियो।

अध्यक्षमा निर्वाचित भएलगत्तै ओलीले केन्द्रीय कमिटीको बैठक सौराहामै राखेका थिए। निर्वाचित केन्द्रीय सदस्यले सौराहामै शपथ लिए। २०७५ सालमा माओवादी केन्द्रसँग पार्टी एकतापछि बनेको नेकपाको अध्यक्ष पनि ओली नै थिए।

गत फागुन २३ गते सर्वोच्च अदालतबाट एमाले–माओवादी मिलेर बनेको नेकपा भंग हुने आदेश दिएपछि दुवै पार्टी पूर्ववत अवस्थामा फर्केका थिए। त्यसपछि एमालेले १०औं महाधिवेशन गरेको हो।

महाधिवेशनको बन्दसत्रमामा ओलीले प्रस्ताव गरेका पदाधिकारी र केन्द्रीय सदस्यलाई हलले ताली बजाएर स्वागत गरे पनि थोरै प्रतिनिधिले त्यसलाई अस्वीकार गर्ने परिस्थिति आयो।

रावल र घनश्याम भुसालले निर्वाचनमा जानुपर्ने अडान लिए। त्यसपछि मात्रै बाध्य भएर ओली निर्वाचनमा जान तयार भएका थिए। ओलीले पार्टीमा आफूलाई निर्विकल्प नेता ठाने पनि रावलले चुनौती दिए।

यसअघि असोजमा गोदावरीमा भएको विधान महाधिवेशनबाटै ओलीलाई निर्विकल्प नेता बनाउने वातावरण तयार गरिएको थियो। निर्विकल्प बन्ने नाममा पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा अंकुश लगाउने कोसिस भएपछि महाधिवेशनमा ओलीविरुद्ध रावलले उम्मेदवारी दिएका हुन् । रावल एमाले नफुट्दा माधव नेपाल समूहमा थिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot