काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसको लुम्बिनी प्रदेशमा सभापति शेरबहादुर देउवा र इतर समूहबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । देउवाका लागि उक्त क्षेत्रमा आफू पक्षधर उम्मेदवारलाई जिताउनैपर्ने वाध्यता देखिएको छ ।
देउवाका लागि लुम्बिनीमा गृहमन्त्री बालकृष्ण खाँड खम्बा बनेका छन् । तरुण दलका पूर्व अध्यक्ष समेत रहेका खाँडको लुम्बिनीमा बलियो पकड छ । १२ जिल्लाका २६ निर्वाचन क्षेत्र, ५२ प्रदेश निर्वाचन क्षेत्रबाट चयन भएका महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय महाधिवेशन प्रतिनिधि मतदाता हुनेछन् । कुल १५८५ मतदाता रहेको लुम्बिनीमा कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
१२ जिल्लामध्ये ११ मा जिल्ला अधिवेशन सम्पन्न हुँदा संस्थापनले २ र इतर समूहले ८ जिल्लामा सभापति जितेको छ । तर, ५ क्षेत्र भएको रुपन्देही र २ क्षेत्र भएको बर्दियामा जितेकाले देउवा समूह सभापतिका उम्मेदवार भरत शाहलाई जिताउनेमा ढुक्क छ ।
संस्थापन इतर समूहका डा. चन्द्र भण्डारी लामो समययता क्षेत्रमा रहेर सक्रिय रहेका थिए । त्यसको असर अधिवेशनहरुमा देखापरेको छ ।
लुम्बिनीमा बहुमत इतर समूहमा देखिएपनि संस्थापन पक्ष बालकृष्ण खाँडलाई भरोसा गरिरहेको छ । खाँड आफै सक्रिय छन् । उनले पासा पल्टाउने गरी रणनीतिसहित बढेको बुझिएको छ ।
देशभरको प्रतिनिधि चयनलाई हेर्दा देउवा पक्षबाट खाँडले सबैभन्दा प्रभावकारी भूमिका निभाउन सके । उनले गृहजिल्ला रुपन्देहीमा मात्र नभई लुम्बिनीमा देउवाका लागि पकड बलियो बनाउन भूमिका खेले । यसकारण पदि खाँड देउवाका लागि खम्बा सावित भएका छन् ।
लुम्बिनीमा प्रदेश सभापतिसहित पदाधिकारी र सदस्यका लागि हुने मतदानमा खाँडले इतर समूहले जितेका क्षेत्र र जिल्लाहरुमा बढीभन्दा बढी मत तान्न सक्ने विश्वास गरिएको छ । यसकारण पनि लुम्बिनीको चुनाव खाँडको परीक्षा बनेको छ । महामन्त्रीका उम्मेदवारी दिन लागेका खाँडका लागि लुम्बिनीको चुनाव निकै महत्वपूर्ण बनेको छ । देउवाका लागि पनि लुम्बिनी महत्वपूर्ण बनेको छ ।