Logo

आधारभूत मानवीय मापदण्ड कार्यान्वयन गर्नुपर्नेमा जोड



कोहलपुर (बाँके), १७ मङ्सिर: प्राकृतिक विपद्का अवस्थामा प्रतिकार्य तथा राहत उद्धार गर्दा आधारभूत मानवीय मापदण्ड पालन गर्नुपर्नेमा जोड दिइएको छ । एशियाली पूर्वतयारी साझेदारी (एपिपी)को सहयोगमा राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र(एनडिआरसी) द्वारा यहाँ आयोजित मानवीय मापदण्डसम्बन्धी प्रशिक्षण कार्यक्रमका सहभागी वक्ताले मानवीय सेवामा कार्यरत सरकारी, गैरसरकारी र निजी क्षेत्रका निकायको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नु जरुरी भएको बताएका हुन् ।

प्रशिक्षण शुभारम्भ गर्दै एपिपीका राष्ट्रिय प्रतिनिधि मान थापाले विपद्मा राहत तथा उद्धारका कार्यमा अपनाउनुपर्ने आधारभूत मानवीय पक्षबारे विश्वमा भएका प्रयास र नेपालले थालनी गर्नुपर्ने कामका बारेमा प्रकाश पारे । नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले विपद्मा पर्ने समुदायको आधारभूत मानवीय पक्षलाई आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो ।

तीन दिनसम्म सञ्चालित प्रशिक्षणमा लुम्बिनी, कर्णाली, मध्यपश्चिम र सुदूरपश्चिम प्रदेशमा विपद् क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाका ३५ प्रतिनिधिको सहभागिता थियो । प्रशिक्षणका १० सत्रमा विपद्का सैद्धान्तिक र व्यावहारिक ज्ञान, सरकारका विभिन्न निकायबाट जारी निर्देशिका, मापदण्ड र विभिन्न देशमा कार्यान्वयन गरिएका अभ्यासबारे जानकारी दिइएको थियो ।

विपद् विशेषज्ञ सुनिल शाक्यले आधारभूत मानवीय मापदण्ड एवं स्फेयरका प्रावधानबारे प्रशिक्षण दिनु भएको थियो । एनडिआरसीका कार्यक्रम निर्देशक सुरेश थापा र कार्यक्रम अधिकृत कृष्ण घिमिरेले प्रशिक्षणको संयोजन गरेका थिए भने राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता कृष्ण अधिकारीले गत असरमा मेलम्चीमा आएको बाढीपछि गरिएका राहत तथा उद्धारमा आधारभूत मानवीय मापदण्डको पालनाबारे जानकारी गराएका थिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot