Logo

नेपाल बार एशोसिएशन नैतिक रुपमा पतन भयो, पदाधिकारीको राजीनामा किन नमाग्ने ? : अधिवक्ता चन्द (भिडिओसहित)



काठमाडौं, १९ मंसिर । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीहरुले समग्र न्यायापालिकाको पूनःसंरचना र त्यहाँ भएका विकृतिको विरुद्धमा उच्चस्तरिय छानबिन समिति गठन गर्न मागसहित आज नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

अधिवक्ता त्रिलोक चन्दले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जनकारी दिएका हुन् । उनले नेपाल बार एसोसियसनले आफुहरुलाई सौताको छोरा जस्तो व्यवहार गरेर प्रहरी लगाएर गेटबाट छिर्न नदिएको भन्दै दुःख व्यक्त गरेका थिए ।

‘समग्र न्यायालयको पुनःसंरचना गर्नुपर्छ । अदालतमा रहेका सबै विकृतिका विरुद्ध एक हुनुपर्छ भनेर हामी ज्ञापनपत्र बुझाउन जाँदा नेपाल बारको गेटमै प्रहरी प्रशासन लगाएर हामीलाई भित्र छिर्न दिईएन् । उहाँहरुले आफ्नो कार्यक्रम भन्नुभयो, हामीलाई सौताको छोराजस्तो व्यबहार गर्नुभयो । तर, हामीले जबरजस्ती जान्छौं भनेपछि अध्यक्षज्यूले आज दिउँसो ३ बजेको समय दिनुभएको छ’–उनले भने ।

कार्यक्रममा बोल्दै चन्दले स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीसँग आबद्ध कानुन व्यवसायीहरु र न्यायप्रेमी जनताहरुसँग मिलेर आफुहरुले विगत ४१ दिनदेखि सडक संघर्ष गरिरहेको उल्लेख गरे । उनले भने,‘नेपाल बार एसोसिएशनले आफ्ना माग फिर्ता गरोस र त्यो मागलाई समर्थन गर्ने तत्कालिन अवस्थामा १९ जना र पछि १४जना न्यायमूर्तिले समेत न्यायालयलाई बन्धक बनाएकोले न्यायालयको काम सुचारु गरोस भन्ने माग हामीले राखेका हौं’ ।

उनले विगतमा आफुहरुले प्रधानन्यायाधीश र बार एसोसियशनलाई पनि ज्ञापनपत्र बुझाएको स्मरण गराए । ‘गोलाप्रथाद्वारा सर्वोच्च अदालत सुचारु गर्ने अवस्था आयो । एक हदसम्म गोलाप्रथा सफल पनि भयो । तर, उहाँहरुले प्रधानन्यायाधीश विरामी भएको अवस्थामा पनि उहाँको स्वास्थ्यको पनि ख्याल नगरेर एकदिन उहाँहरुले बेन्च हेर्न नसक्ने अवस्था छ भनेर हेर्न नभ्याउने आदेश दिएर बसेको देखियो’–उनले भने ।

उनले फेरीपनि अदालतलाई यसरी नै बन्धक बनाइयो र नेपाल बारको काँधमा बन्धुक राखेर न्यायालयमा पड्काइन्छ भने आफूहरुले नेपाल बारका पदाधिकारीको राजीनामा किन नमाग्ने ? भनेर प्रश्न उठाएको बताए ।

यस्तै, उनले नेपाल बार एसोसिएशनलाई मुठ्ठीभरका केही बरिष्ठ दादाहरुले आफ्नो पेवा र दाईजोजसरी बारको काँधमा बन्दुक पड्काएर प्रधानन्यायाधीशको नाजायज राजीनामा मागेको भन्दै खेद प्रकट गरेका थिए ।

‘उहाँले कसैको दबावमा राजीनामा दिनुहुँदैन । यदि सर्वोच्च अदालका अन्य न्यायाधीशले पनि अदालत सुचारु रुपमा चल्न दिएनन् भने तिनीहरुको विरुद्धमा पनि हामीले न्याय बिगार्न पाइदैन भनेर ज्ञापनपत्र बुझाउने छौं’–उनले भने ।

तपाईंहरु प्रधानन्यायाधीशको बचाउमा उत्रिनुभएको हो भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा उनले भने,‘हामी व्यक्तिगत रुपमा कसैको बचाउमा लागेका होइनौं, हामी समग्र न्यायापलिकाको पूनःसंरचना र त्यहाँ भएका विकृतिको विरुद्धमा उच्चस्तरीय छानबिन समिति बनाएर प्रधानन्यायाधीशको गल्ती भए विधिबमोजिम कारबाही होस र तीलगायत अन्य न्यायाधीशमात्र होइन् नेपाल बारले राखेका माग गलत हो भनेर मात्र हामी लागेका हौ’ ।

साथै, उनले नेपाल बार एसोसिएसनको नैतिकताको पतन भएको भन्दै उसैले अरुलाई नैतिकताको पाठ सिकाउनु नाजायज भएको टिप्पणी गरेका छन् । ‘नेपाल बारले लगाएको आरोपलाई खण्डित गर्न र प्रमाणित गर्न उहाँहरुसँग कुनै प्रमाण छैन् । अनावश्यक बखेडा झिकेर सम्माननीय प्रधानन्यायाधीशलाई मात्र होइन्, एउटा न्यायालयमाथि नै आरोप लगाइएको छ’–उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot