Logo

सीटीईभीटी अनियमितता प्रकरण अख्तियारको नोटिसमा



काठमाडौं, मंसिर २० । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेले करोडौं चलखेल गरी आफू अनुकूल र सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ‘नोटिस’मा राखेको छ ।

सदस्य सचिव काफ्लेकै योजनामा पीसीएल भर्नाका लागि कलेजलाई सम्बन्धन दिनेक्रममा प्रतिकलेज ५ देखि १० लाख रुपैयाँसम्म असुल गरेको समाचार सार्वजनिक भएपछि अख्तियारले सीटीईभीटीमा भएको अनियमितता गम्भीर चासो लिएको हो ।

अख्तियार स्रोतका अनुसार अख्तियारले सीटीईभीटीमा भएका अनियमितता विभिन्न सञ्चार माध्यममा आएका तथ्यलाई आधार मानेर सीटीईभीटी र सदस्य सचिव काफ्लेमाथि छानबिन गर्ने तयारी गरेको छ । ‘यस सम्बन्धमा आवश्यक तथ्य र सूचना संकलन गरेर छानबिन अघि बढाउन सकिन्छ,’ अख्तियार स्रोतले भन्यो ।

कुनै पनि निकायमा अनियमितता भएको विषयमा सञ्चार माध्यममा आएका तथ्यपरक सूचनालाई नै उजुरीका रूपमा ग्रहण गरी अख्तियारले छानबिन र अनुसन्धानलाई अघि बढाउन सक्ने अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

सीटीईभीटी पनि केही दिनदेखि अनियमितता भइरहेको भन्ने सूचना प्रवाह भएकाले त्यसका आधारमा अख्तियारले छानबिन अगाडि बढाउन सक्ने प्रवक्ता रिसालले बताए । ‘सीटीईभीटीमा पछिल्लोपटक अनियमितता भएको भन्ने विषय अख्तियारको नोटिसमा पनि आएको छ, यस सम्बन्धमा अख्तियारले छिट्टै आवश्यक निर्णय गर्ला,’ प्रवक्ता रिसालले भने ।

कलेजलाई सम्बन्धन दिने क्रममा सदस्य सचिव काफ्ले र उनीनिकट व्यक्तिहले करोडौं रुपैयाँ संकलन गरेको आरोप लाग्दै आइरहेको छ ।

विवादास्पद छविका काफ्लेले स्तर निर्धारण शाखामा कार्यरत खेम पोखरेल र सोही शाखामा कार्यरत सदस्य सचिवका आफ्नै दाइ नाता पर्ने कर्मचारी रमाकान्त काफ्लेले कलेजसँग रकम असुल्ने जिम्मा लिएको सीटीईभीटीका कर्मचारीले बताएका छन् ।

सदस्य सचिव काफ्लेको बदमासीलाई साथ दिँदै गएमा शिक्षामन्त्री देवेन्द्र पौडेल पनि एकपछि अर्को विवादमा पर्न सक्ने र उनीमाथि पनि छानबिन हुन सक्ने देखिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot