काठमाडौं, मंसिर २० । नयाँ बजार खुसिबु टाउन प्लानिङस्थित जनक हमालको आशिष गलैँचा गोदाममा शुक्रबार दिउँसो डेढ करोडको क्षति पुग्ने गरी आगलागी भयो । विद्युत् सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ ।
अन्दाजी दिउँसो २ बजेबाट लागेको आगो नियन्त्रण लिन अग्नि नियन्त्रक तथा सुरक्षाकर्मीलाई सातवटा दमकलको सहयोगमा करिब पाँच घण्टा लाग्यो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कोठा तातो पार्न बालेको हिटरको लाइन सर्ट हुँदा आगलागी भएको हो ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख प्रहरी नायब उपरीक्षक दुर्गा दाहाल चिसो बढेसँगै घरकोठा तथा कार्यालय न्यानो पार्न ग्यास गिजर तथ हिटर बाल्दा विद्युत् सर्ट भएर आगलागीका घटना हुने गरेको बताए ।
गत साउनदेखि मङ्सिरसम्म उपत्यकामा मात्र १११ वटा आगलागीका घटना भएका छन् । यी घटना हुनुमा मानवीय कमजोरी प्रमुख कारण देखिएको काठमाडौँ महानगरपालिका जुद्ध वारुण यन्त्र कार्यालयले जनाएको छ ।
कालीकोट निवासी हमालको उक्त गलैँचा गोदाममा पनि मानवीय कमजोरीका कारण आगलागी भएको हुनसक्ने दाबी अग्नि नियन्त्रकको छ । चिसो बढेसँगै न्यानो पार्ने नाममा आगो तथा कोइला, हिटर तथा गिजर बाल्ने गर्दा आगलागीका घटना बढ्न थालेका हुन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रत्येक दिन १३ वटासम्म आगलागीका घटना हुन थालेका छन् । धेरैजसो आगलागी दाउरा तथा कोइला बाल्दा, विद्युत् सर्ट तथा खाना पकाउने ग्यास चुहावट भएर हुन्छ ।
आगलागी बढ्नुमा मानवीय कमजोरी तथा हेलचेक्र्याइँ प्रमुख कारण रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।