Logo

सभापतिको साझा उम्मेदवार छान्न चाक्सिवारीमा पौडेल समुहको बैठक बस्दै



काठमाडौं, मंसिर २१ । कांग्रेस महाधिवेशन शुरु हुन अब तीन दिन मात्र बाकी छ । यहि मंसिर २४ गते देखि शुरु हुने अधिवेशनमा गुट उपगुटको प्यानलसहित नेतृत्व दावी गर्न राजधानीमा बाक्लो छलफल गर्न थालेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार खडा गर्न आन्तरिक छलफल थालेको छ । सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा शशांक कोइराला र डा शेखरबीच छलफल भएपनि निष्कर्ष ननिस्केपछि आज पुनः छलफल हुन लागेको छ ।

साझा उम्मेदवार तय गर्न आज दिउँसो १ बजे प्रकाशमान सिंहको निवास चाक्सिवारीमा केन्द्रीय सदस्यसहितको बैठक बोलाइएको छ । संस्थापन पक्षबाट सभापति शेरवहादुर देउवाले पुनः नेतृत्व दाबी गरेकाछन् भने संस्थापन इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा शेखर कोइरालाले नेतृत्व दावी गरेका छन् । यस अघि नेतृत्व दावी गरिरहेका महामन्त्री डा शशांक कोइरालाले पछिल्लो समय डा शेखरलाई समर्थन गर्ने संकेत गरेका छन् ।

यस अघि देउवा पक्षमा बलियो खम्बाको रुपमा उभिएका उपसभापति विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा सभापतिको उमेद्वारी घोषणा गरिसकेपनि प्यानल बनाउन सकेका छैनन् । सभापतिको दाबी गर्दै आएका अर्का नेता कृष्णप्रसाद सिटौला पक्ष पछिल्लो समय देउवा संग गठबन्धन गरि सभापति बाहेक अनय पद बढी भन्दा बढी हत्याउने रणनीतिमा छन् । तल्लो तहको अधिवेशन प्रारम्भ भए संगै १४औं अधिवेशनमा आफ्नो पक्षबाट सभापतिको लागि एकमात्र साझा उमेद्वार दिने बताउदै आएका पौडेल पक्षका नेताहरुले सोमबार पनि नेतृत्वको बारेमा छलफल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot