काठमाडौं, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कसैप्रति सन्तुष्ट छैनन् भने कुराइदिन्छन् । उनी कसैलाई आधा घन्टा त कसैलाई एक, दुई, तीन, चार जति घन्टा पनि कुराइदिन्छन् । ओलीको यो शैली पनि हो ।
ओली कसैप्रति असन्तुष्ट छन् भने धेरै समयसम्म कुराइदिन्छन् । उनले जति धेरै समय कुराउँछन् उति असन्तुष्ट छन् भन्ने बुझ्नुपर्छ । प्रचण्ड, माधवकुमार नेपाल जस्ता नेताहरुलाई पनि ओलीले कार्यालय वा निवासमा डाकेर घन्टौं कुराएको घटना छन् ।
आज नेपाल बार एशोशिएसनका प्रतिनिधि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन माग गर्दै ओलीको बालकोटस्थित निवासमा पुगे । तर, ओलीले उनीहरुलाई निकै समयसम्म कुराए ।
गाडी पार्किङ गर्ने जस्तामुनी मेच राखेर कुर्ने अवस्था बनाए । आधा घन्टा भन्दा बढी समय कुर्दा पनि ओली देखापरेनन् । यसलाई अर्थपूर्ण मानिएको छ ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्व अध्यक्ष शम्भु थापालगायत ओलीलाई ज्ञापनपत्र बुझाउन पुगेका छन् ।