Logo

सिंह र कोइराला टसमस भएनन्, एक्ला एक्लै काँग्रेस सभापतिको प्रतिष्पर्धामा बढ्दै



काठमाडौं, २१ मंसिर । नेपाली काँग्रेसका संस्थापन इतरका दुई नेताहरु पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको उम्मेदवारीबाट पछि नहट्ने गरी बढेका छन् । उनीहरुले आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन् ।

सिंहले रामशाहपथस्थित सम्पर्क कार्यालय खोलेर पछि नहट्ने स्पष्ट पारे । आफूले लामो समय काँग्रेसमा भूमिका खेलेको स्मरण गराउँदै न्याचुरल्ली नै सभापति बन्ने बेला भएको तर्क गरे । आफूलाई साझा उम्मेदवार बनाउन पक्षीय नेताहरु तयार हुने आशा व्यक्त गरे ।

कोइरालाले पनि सम्पादकहरुसँग भेट गर्दै आफ्नो उम्मेदवारीबाट बोले । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइरालाको पनि साथ पाउने दाबी गरे । उनले आफूपक्षीय नेताहरु समेतलाई राखेर उम्मेदवारीबाट पछि नहट्ने बताए ।

सिंह र कोइराला दुवै पछि नहट्नेमा टसमस नभएपनि समय बाँकी छ । उनीहरु भोलिभित्र सहमति निकाल्न लागिपरेका छन् । २४ मंसिरमा पार्टीको महाधिवेशन सुरु हुँदैछ । अन्तिम समयमा पनि सहमति बन्ने सम्भावना छ ।

कोइरालाले पहिलो चरणमा धेरै उम्मेदवार उठ्दा कसैको पनि बहुमत नआउने आँकलन गरेका छन् । तर, परिस्थिति फरक हुन सक्छ । धेरै उम्मेदवार उठ्दा देउवाले पहिलो चरणमै बाजी मार्न सक्छन् । देशभरको चुनावी नतिजाले त्यस्तै संकेत देखाएको छ ।

संस्थापन इतरका सिंह र कोइराला आफ्नो बाटोमा बढिसकेबाट काँग्रेसको सभापतिको प्रतिष्पर्धा रोचक मोडमा पुगेको छ । यी दुई टसमस नभइरहेपनि अन्तिममा कुनै एक ब्याक हुने सम्भावना पनि देखिएको छ । तर, त्यो परिस्थिति आउन कठिन बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot