Logo

शेरबहादुरजी नै चोलेन्द्रजीलाई निकाल्दिन भन्नुहुन्छः ओली



काठमाडौं, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट हटाउन नचाहेको टिप्पणी गरेका छन् । उनले चोलेन्द्र शमशेर जबरालाई महाभियोग ल्याउन देउवा देखि सत्तापक्षका नेताहरु नै तयार नभएको टिप्पणी गरेका हुन् ।

‘चोलेन्द्रजी राजीनामा दिन्नँ भन्नुहुन्छ, संविधान अनुसार चल्छु भन्नुहुन्छ,’ ओलीले नेपाल बार एशोशिएसनका प्रतिनिधिको ज्ञापनपत्र बुझ्दै भने,‘शेरबहादुरजी भन्नुहुन्छ प्रधानमन्त्री बनाएको छ कसरी निकाल्छु ।’

ओलीले चोलेन्द्र शमशेर जबरा नहट्ने संकेत गरे । उनले भने,‘चोलेन्द्र शमशेरलाई हटाउँदैमा न्यायालय सच्चिदैन ।’ आफूहरुसँग प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउने दुई तिहाईको शक्ति पनि नभएको बताए । कुनै पनि दल निर्णायक नभएको भन्दै आफूहरु न्यायालय सच्याउन तयार भएको बताए । उनले भने,‘सुधारका कुरामा कुनै आपत्ति छैन ।’

ओलीले तत्काल न्यायालय सच्चिने सम्भावना नरहेको जवाफ दिए । उनले न्यायालय निष्पक्ष, स्वच्छ हुनुपर्नेमा जोड दिए । महाभियोग लगाउन साथ दिनेबारे वरिष्ठ अधिवक्ता शम्भु थापाले बोल्दा ओलीले जवाफ दिए,‘तपाईहरुले २० प्रतिशत उठाउनुभयो शतप्रतिशत उठाएर पूर्णता दिनुहोस् ।’

अदालतले प्रधानमन्त्री बनाएर संविधानको उल्लंघन गरेको ओलीको टिप्पणी थियो । उनले भने,‘ संसदले प्रधानमन्त्री बनाउनुपर्नेमा संसदलाई थाहा पनि भएन । कम्तिमा संसदमा फर्काउनुपर्दथ्यो । संसदले प्रधानमन्त्री हटेको र नियुक्त भएको पनि थाहापाएन । ’

केपी ओलीलाई नहटाई हुन्नथियो भनेर अमेरिकाबाट एकजना न्यायाधीशले इमेलमा लेखेर पठाएको भन्दै आलोचना गरे । उनले भने,‘त्यो इमले न्यायाधीशहरुको बैठकमा बाचन भयो ।’ एकजना वरिष्ठ अधिवक्ताले गुन लगाउनु पर्दैन भन्दै महाभियोगको कुरा उठाएको ओलीले टिप्पणी गरे । ओलीले भने,‘ मैंले जागिर खाएको होइन लोकतन्त्रका लागि संघर्ष गरेको हुँ ।’

न्यायालयले सीमा नाघेको ओलीको टिप्पणी थियो । उनले भने,‘संविधानको व्याख्या गर्ने हो संशोधन गर्न पाउँदैन ।’ संविधानमा नभएको परमादेशबाट प्रधानमन्त्री बनेको उनको भनाई थियो । ओलीले भने,‘कति बजे मिनेटमा प्रधानमन्त्री बनाउने भनेर अदालतले आदेश दिने संविधानमा कहाँ लेखेको छ ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot