गण्डकी, २२ मंसिर । गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी पुसमा नाटक लेखन कार्याशालासहितका विभिन्न छ कार्यक्रम आयोजना गर्ने भएको छ ।
साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन खोजेको प्रतिष्ठानले पुसमा नाटक लेखन कार्यशालासहित नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला, स्थापित जातिको भाषाको कार्यशाला, पञ्चेबाजा प्रशिक्षण, कवि गोष्ठीका साथै मुख्यमन्त्रीसँग बाल साहित्य कार्यक्रम दोस्रो शृङ्खला आयोजना गर्ने प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नाटक लेखन कार्यशाला पुस १ देखि ११ गतेसम्म बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म गरिनेछ । एघार दिनसम्म पूरा समय दिनसक्ने व्यक्तिलाई मात्र कार्यशालामा सहभागी गराउने जानकारी दिँदै उनले सहभागिताका लागि नाटकको नमूना पठाउनुपर्ने बताए । इच्छुकले एक हजार शब्दमा नबढाई नमूना नाटक लेखेर मङ्सिर २३ गते बेलुका ५ः०० बजेसम्म पठाइसक्नुपर्ने आयोजकले जनाएको छ । आवेदनमा परेका नाटकमध्येबाट बढीमा आठ आवेदकलाई उत्कृष्टताका आधारमा छनोट गरी कार्यशालामा सहभागी गराउने तयारी गरिएको कार्यक्रमका संयोजक प्राज्ञ सुरेन्द्र गुरुङले जानकारी दिए ।
पोखरा प्रज्ञा प्रतिष्ठान कार्यशालाको आयोजक हो भने पोखरा थिएटरको सहआयोजक छ । पोखरा थिएटरको गन्धर्व नाटक घरमा आयोजना हुने कार्यशालाको सहजीकरण लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले गर्नेछन् । यस अगाडि गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक निर्देशन कार्यशाला सम्पन्न भएको छ ।
प्रतिष्ठानको आयोजनामा पुस ४ बाट ८ गतेसम्म स्याङ्जा जिल्लाको वालिङमा नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला गरिने प्रतिष्ठानले जनाएको छ । सप्तक सङ्गीत सांस्कृतिक केन्द्रसँगको सहकार्यमा हुन लागेको कार्यशालामा २५ जनालाई सहभागी गराइने कार्यक्रम संयोजक प्राज्ञ गमबहादुर गुरुङले जानकारी दिए ।
त्यस्तै स्थापित जाति विस्थापित भाषाको दुई महिने कार्यशाला पुस १० गतेदेखि गरिने र यो प्रदेशका माग भएका जिल्लामा गरिने सदस्यसचिव श्रेष्ठले जानकारी दिए । गण्डकी प्रदेशअन्तर्गतका ८४ जातिमध्ये क्रमाङ्क १ देखि २० सम्मका २० जातिको अध्ययन गरिने र प्रत्येकको तीन संस्कृति तथा पाँच बाजाको अध्ययन गरेर ती जाति, संस्कृति र बाजाका बारेमा पुस्तक तयार पार्ने प्रतिष्ठानको योजना छ ।
अध्ययनलाई आधार बनाएर विद्यालयअन्तर्गतको पाठ्यक्रम तयार गर्ने र आउने नयाँ शैक्षिक सत्रबाट ऐच्छिक विषयका रूपमा विद्यालयमा लैजाने प्रतिष्ठानको तयारी रहेको श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानले पुस महिनामा नै पञ्चेबाजा प्रशिक्षण कार्यक्रम गर्ने तयारी गर्नुका साथै पुस महिनाको दोस्रो हप्ता म्याग्दीमा कवि गोष्ठीको आयोजना गर्न लागेको छ ।
प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यसको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिष्ठान सधैँ क्रियाशील बन्ने कुलपति सूर्य खड्का विखर्चीले जानकारी दिए । प्रदेशका भाषा, साहित्य, लोक साहित्य, संस्कृति, ललितकला, नाट्यकला, सङ्गीतको अध्ययन, अनुसन्धान र संवद्र्धनका लागि निरन्तर कार्य गर्ने उनले बताए । रासस ÷ तस्विरः पोेखरा न्युज