Logo

निधिको हातमा काँग्रेसको भावी सभापति बनाउने साँचो पुग्दै



काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको सभापतिका लागि संस्थापन पक्षबाट शेरबहादुर देउवा उम्मेदवार बन्ने तय भइसकेको छ । देउवाविरुद्ध संस्थापन इतरबाट साझा उम्मेदवारको अन्तिम गृहकार्य भइरहेको छ । सम्भवतः भोलि विहानसम्म यसको टुंगो लाग्न सक्छ । नेताहरु आजै नाम टुंग्याउन सक्रिय छन् ।

देउवासँग संस्थापनइतरबाट साझा उम्मेदवार तय भएमा बहुमत कसैको पनि नहुन सक्छ । काँग्रेसको ४३१९ महाधिवेशन प्रतिनिधिको प्रारम्भिक सूची केलाउँदा कुनै उम्मेदवारको एकल बहुमत देखिदैन ।

देउवाको पक्षमा १८ देखि १९ सय सम्म मत छ । तीमध्ये केही मत घटनाक्रमले यताउता हुनसक्छ ।

संस्थापन इतरको पनि यही हाराहारीमा मत छ । तर, त्यो मत वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालासहित अन्य नेताहरुसँग जोडिएको मत जोड्दा हो । व्यक्तिगत पकडका दृष्टिले बढी मत भएकामा कोइराला परिवार र सिंह नै छन् । पौडेलको समूहगत मत हो । राजनीतिक घटनाक्रमले संस्थापन इतर समूहको मत मध्ये केही सय मत यताउता हुनसक्छ ।

संस्थापन पक्ष र इतरबाहेक तेस्रो र चौंथो धार पनि छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको अर्को धार छ । त्यो धार देउवासँग एलाइन्समा छ । सिटौला पक्षले ७ सय मत भएको दाबी गरेको छ । तर, उक्त पक्षको मत अधिकतम् ५ सयसम्म छ । घटनाक्रमले त्यो मत पनि यताउता हुनसक्छ ।

देउवा र सिटौला मिल्दा पनि संस्थापन इतरले साझा उम्मेदवार दिएमा नतिजामा यु टर्न हुनसक्छ । साझा उम्मेदवारले माहोल नै परिवर्तन गरिदिनसक्छ । यसले देउवालाई झस्काएको छ । विशेषगरी उपसभापति विमलेन्द्र निधिले साथ छाड्दा देउवालाई चिन्ता छ ।

निधि सभापति शेरबहादुर देउवाले टिम बनाउन डाकेको बैठकमा सहभागी भएका छैनन् । उनले आफ्नै तयारीमा रहेको जवाफ दिने गरेका छन् ।

देउवासँग संस्थापनइतरको साझा उम्मेदवार प्रस्तुत भएमा निधिको मत निर्णायक हुनसक्छ । प्रदेश २ मा निधिको पकड छ । त्यहाँ केही सय मत निधि पक्षधर छ । अन्य जिल्लामा पनि निधिनिकटस्थहरु छरिएका छन् । काँग्रेसमा अब यही मत निर्णायक हुने भएकाले निधिको नयाँ दाउ छ । उनले देउवा र इतर समूहसँग बलियो गरी राजनीतिक लेनदेन गर्न सक्छन् ।

काँग्रेस सभापति कस्लाई बनाउने भन्ने साँचो निधिको हातमा आउँदैछ । यसकारण निधि अचानक मुख्य खेलाडी बन्न गइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्