Logo

देउवा समूहको बैठकमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि…



काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको संस्थापन पक्षमा सभापति शेरबहादुर देउवालाई नेतृत्वमा चुनौती दिने कोही अगाडि सरेनन् । सभापतिको दाबी गरेका उपसभापति विमलेन्द्र निधिले टिम छाडिसकेका छन् । अब देउवा नै नेतृत्वको एकमात्र दाबेदारका रुपमा संस्थापन पक्षमा देखिएका छन् ।

देउवाले आज बुढानिलकण्ठमा आफू पक्षधरलाई डाकेर महाधिवेशनको आन्तरिक तयारीबारे छलफल गरे । सबैले सर्वसम्मत देउवालाई जिताउने गरी लागेको सुनाए । धेरैले बहुमत नै आफ्नो पक्षमा आइसकेको सुनाए । तर, इतर समूहको तयारी हेरेर कडा रुपमा जानुपर्नेबारे पनि छलफल भएको बुझिएको छ ।

देउवाले टिम मिलाएर लानेबारे पनि छलफल गरेको बुझिएको छ । उनले आकांक्षीहरुबारे पनि चासो राखेका थिए ।

देउवालाई भेटेर धेरैले पदाधिकारीको दाबी गरिरहेका छन् । उपसभापतिमा गोपालमान श्रेष्ठ र पूर्णबहादुर खड्काको दाबी छ । तर, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई व्यवस्थापन गर्नुपर्ने चुनौती देउवालाई छ । सिटौलाको साथ लिन उनलाई उपसभापति दिनुपर्ने हुनसक्छ । सिटौला समूहबाट महामन्त्रीमा प्रदीप पौडेललाई व्यवस्थापन गनुपर्ने चुनौती छ ।

देउवा समूहमा महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाँड, केन्द्रीय सदस्य एनपी साउदका अलावा प्रवक्ता विश्वप्रकाश शर्मा पनि दाबेदार छन् ।

सहमहामन्त्रीमा दर्जन जति आकांक्षी छन् । धेरै आकांक्षी भएपछि देउवालाई नयाँ चुनौती थपिएको छ । टिम व्यवस्थापन गर्न नसक्ने गुट परिवर्तन हुनसक्ने भय पनि देउवालाई छ ।



प्रतिक्रिया दिनुहोस्